बन्दिपुरमा पर्यटकको बसाइ लम्ब्याउन ऐनमै व्यवस्था, पारित भयो पर्यटन विकास ऐन


टुरिजम पाना काठमाडौं । २० माघ २०७९
फाइल तस्वीर

बन्दिपुर गाउँपालिकाको गाउँ सभाले पर्यटन विकास ऐन २०७९ पास गरेको छ । गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न पालिकाको १२ औं गाउँसभा बैठकले सो ऐन पारित गरेको हो ।

विधायन समितिका संयोजक बलबहादुर गुरुङले ऐन पेस गरेका थिए । उक्त ऐनमा बन्दिपुरको पर्यटन विकासका लागि विभिन्न कामहरू तय गरिएका छन् ।

पालिका अध्यक्ष थापाका अनुसार, बन्दिपुर टाउनलाई संरक्षित क्षेत्र घोषणा गर्ने, पुरातात्विक सम्पत्तिलाई विष्तृत परियोजना प्रतिवेदन नै बनाएर संरक्षण गर्ने जस्ता कार्यक्रमहरू समावेश गरिएका छन् ।

यस्तै नयाँ घरहरू बनाउँदा पूरानै शैलीमा बनाउनका लागि समेत ऐनमा व्यवस्था गरिएको छ । बन्दिपुर बजारमा स्वच्छ, सफा र आकर्षक बनाउनका लागि फ्ल्याक्स बोर्डहरू हटाइने समेत भएको छ ।

यस्तै बन्दिपुरमा पर्यटकको बसाई लम्ब्याउन विभिन्न गतिविधि गर्ने, बन्दिपुरका १० आकर्षक गन्तव्यको कथा क्यूआरकोड मार्फत पढ्न पाइने व्यवस्था गर्ने जस्ता कार्यक्रमहरू समावेश गरिएको अध्यक्ष थापाले जानकारी दिए ।

उनले बन्दिपुरको पर्यटन प्रवर्द्धनका लागि आगामी माघ २५ गते काठमाडौंमा बन्दिपुर महोत्सव राख्ने तयारी भइरहेको जानकारी दिए ।
यस्तै पोखरामा पनि घुम्न जाऔँ बन्दिपुर कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ ।

उज्यालो बन्दिपुर कार्यक्रम अन्तर्गत संरक्षित क्षेत्रमा सडक बत्तिको व्यवस्था गर्ने काम भइरहेको उनको भनाइ छ ।

अहिले कार्यविधि बनिरहेको भन्दै उनले भने,‘कार्यविधि अब पास हुन मात्र बाँकी छ, अबको कार्यपालिकामा यी काम कार्यविधिमा समावेश गरेर कामलाई निरन्तरता दिन्छौँ ।’

ऐनमा पालिका मातहतमा पर्यटन शाखा स्थापना गर्ने समेत व्यवस्था गरिएको छ ।

२० माघ २०७९