बन्दीपुरमा विदेशी पर्यटकको दौड र सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री सहयोग

अमेरिका, ब्राजिल र फ्रान्सका ६८ पर्यटकको सहभागिता


टुरिजम पाना बन्दीपुर । १३ कार्तिक २०७९
foreign tourist running competition

तनहुँको महत्वपूर्ण पर्यटकीय स्थल बन्दीपुरमा विदेशी पर्यटकबीच दौड प्रतियोगिता गरिएको छ । पर्यटकको विदेशी क्लब ‘ फ्रान्स सेनेगलिज‘ को आयोजना र हेल्लो माउन्टेन ट्रेक एजेन्सीको समन्वयमा बन्दीपुरमा विदेशी पर्यटकबीच दौड प्रतियोगिता गरिएको बन्दीपुर पर्यटन विकास समितिका पूर्वअध्यक्ष बैंस गुरूङले जानकारी दिए ।

दौड प्रतियोगिता शुक्रबारबाट सुरू भएको हो । शुक्रबार बन्दीपुर बजारबाट करिब तीन किमि दूरीको र शनिबार करिब ६ किमि दूरीको प्रतियोगिता गरिएको थियो ।

bandipur tourist running

ट्रेकका प्रबन्ध निर्देशक विकास गुरुङले आइतबार बन्दीपुर बजारबाट रामकोटसम्म ५ किमि दूरी दौड प्रतियोगिता गरिएको बताए । प्रतियोगितामा अमेरिका, ब्राजिल र फ्रान्सका ६८ पर्यटकको सहभागिता रहेको छ ।

बन्दीपुरपछि पोखरा र काठमाडौंमा पनि दौड प्रतियोगिता गरिने बताइएको छ । दौड प्रतियोगिता गर्ने समूहमा आपतकालीन अवस्थाका लागि पर्यटकहरुले नै विदेशबाट चिकित्सकहरुसमेत लिएर आएका छन् ।

पर्यटकहरुले आफ्नो दौड सामुदायिक विद्यालयमा पुगेर टुंग्याउने गरेका छन् । उनीहरुले दौड टुंग्याएको विद्यालयका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्ने गरेको पनि गुरुङले जानकारी दिए ।

अहिलेसम्म बन्दीपुर आसपासका दुई वटा विद्यालयका एक सयभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । दौड अवधिभर पर्यटकले एक हजार चार सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने बताइएको छ ।

पर्यटकहरुको चहलपहल र यस किसिमको दौडले बन्दीपुर र यस आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने गुरुङको भनाइ छ । विदेशी क्लबको आयोजनामा बन्दीपुरमा सन् २०१० देखि नै विदेशी पर्यटकहरुको दौड प्रतियोगिता हुँदै आएको समितिका पूर्वअध्यक्ष गुरुङले जानकारी दिए ।

१३ कार्तिक २०७९