बाराही जंगल लज ‘मस्ट इन्स्पिरेसनल इको लज’ अवार्डबाट सम्मानित


टुरिजम पाना संवाददाता काठमाडौं । २७ मंसिर २०८०
चितवनको बाराही जंगल लज २०२३ को ‘मस्ट इन्स्पिरेसनल इको लज’ अवार्डबाट सम्मानित भएको छ ।
बाराही हस्पिटालिटीको लगानीमा चितवनमा रहेको बाराही जंगल लजलाई टफ्ट टाइगर वाइल्ड लाइफ अवार्ड अन्तर्गत सो अवार्ड प्रदान गरिएको हो ।
टफ्ट टाइगरका संस्थापक जुलियन म्याथ्युज र विशाल सिंहले लजका जनरल म्यानेजर प्रकाश चन्दलाई सो अवार्ड प्रदान गरेका हुन् ।
जोन वेकफिल्ड मेमोरियल अवार्ड सन् २०२३ मा ‘मस्ट इन्स्पिरेसनल इको लज’को रुपमा रहेको चितवनको बाराही जंगल लजलाई प्रदान गरिएको सम्मानपत्रमा जानकारी दिइएको छ ।
टफ्ट टाइगर अवार्ड भारतमा सन् २०१० मा स्थापना गरिएको अवार्ड कार्यक्रम हो । पर्यटन क्षेत्रको दीगो विकासमा उल्लेखनीय योगदान पुर्‍याएबापत हरेक वर्ष यो अवार्ड विभिन्न मुलुकका पर्यटकीय क्षेत्रमा योगदान पुर्‍याउने कम्पनीलाई दिइन्छ । जसअन्तर्गत नेपालको बाराही जंगल लजले यो अवार्ड हात पारेको हो ।
बाराही जंगल लज ‘टफ्ट टाइगर’ अन्तर्गत इको सर्टिफाइड लज पनि हो । यस लज २०१५ देखि हालसम्म निरन्तर उच्च स्तरको (आउटस्ट्याण्डिङ प्राक्टिस) बिधा अन्तर्गत सर्टिफाइड हुँदै आएको छ । हालै ‘आइएसओ-१४००१’ बाट पनि अन्तर्राष्ट्रिय स्तरको इन्भाइरन्मेन्टल म्यानेजमेन्ट सिस्टम्स् (इएमएस) सहितको लजको रुपमा बाराही जंगल लज सर्टिफाइड समेत भएको छ।

चितवन मेघौलीमा रापती नदि किनारमा रहेको बाराही जंगल लज जंगल थीममा बनाइएको छ । १२ हेक्टर भूभागमा विस्तार भएको यस लजमा बसेर आनन्दले राप्ती नदीमा जलचर रमाएको मात्र नभई चितवन राष्ट्रिय निकुञ्जमा मृग, गैंडा, हात्ती लगायतका पशुपन्छी रमाएको दृश्यावलोकन गर्न सकिन्छ । सन् २०१२ देखि सञ्चालनमा आएको यस रिसोर्ट वातावरणीय दृष्टिकोणले पनि निकै नै मनमोहक छ । यहाँ पुग्ने जोकोहीलाई त्यहाँको दृश्य तथा बोटविरुवाको छहरीले ताजा बनाइदिन्छ ।

२७ मंसिर २०८०