पोखराको वरपिपल रिसोर्टले पाहुनालाई खुवाउँछ आफ्नै बारीको तरकारी

रिसोटलाई पुग्ने तरकारी आफ्नै बारीमा उत्पादन


टुरिजम पाना पोखरा । ९ पुष २०७९

पोखराको लेकसाइडको स्ट्रिट नम्बर २८ स्थित मणिमार्गमा वरपिपल रिसोर्टमा पुग्ने पाहुनाले नेपालको गाउँले एवं मौलिक परिवेशको आभाष पाउने छन् ।

कोरोना महामारीका बीच (दुई बर्षअघि) स्थापना भएको यस रिसोर्टले स्थापनादेखि नै नेपाली मौलिकता गाउँले एवं मौलिक परिवेशलाई झल्काउने रिसोर्टका अध्यक्ष जितु गुरुङले बताए । रिसोर्टमा स्थानीय ढुंगा, माटो र काठ लगायतका सामाग्री प्रयोग गरिएको गुरुङले बताए । रिसोर्टले पाहुनाहरुलाई मौलिक एवं अर्ग्यानिक खाना खुवाउन रिसोर्ट नजिकै ४ रोपनी जग्गामा तरकारी खेतीसमेत गरेको छ ।

रिसोर्टले मह उत्पादनका लागि मौरीपालन पनि गरेको छ । अहिले २० वटा मौरीका घार रहेका छन् । ती मौरीका लागि रिसोर्टले नै ३ रोपनी जग्गामा तोरी, सुर्यमुखीसहित अन्य फुलहरु रोपेको गुरुङले जानकारी दिए । वरपिपलमा पुग्ने पाहुनाहरुलाई रिसार्टले नै उत्पादन गरेको ताजा मह र तरकारी खुवाउने गरेको छ ।

रिसोर्टले मह उत्पादन गर्न थालेको भने ७ महिना भयो । एउटा घारबाट एक, दुई किलोसम्म मह उत्पादन हुने गरेको गुरुङले जानकारी दिए । रिसोर्टले तरकारी भने सुरुबाट नै उत्पादन गरिरहेको छ ।

 

‘काउली, बन्दा, गाँजर, मुला, साग, गोलभेँडा, धनियाँ, खुर्सानी, पुदिना, चाइनिज साग लगायतका तरकारी सबै हाम्रै बारीमा उत्पादन हुन्छ,’ गुरुङले भने, ‘रिसोर्ट खुलेदेखि नै बाहिरबाट तरकारी किन्नु परेको छैन ।’

रिसोर्टले पामेमा छिट्टै ५५ रोपनी क्षेत्रफलमा फार्म हाउस पनि सञ्चालन गर्ने योजना बनाएको छ । फार्म हाउसमा पाहुना राख्ने, त्यही उत्पादन भएका खानेकुरा खुवाउने योजनासहित फार्म हाउसको अवधारणा अगाडि बढाएको गुरुङले बताए ।

४० करोड लगानीमा निर्माण भएको वरपिपल रिसोर्टमा ६० जना कर्मचारी छन् । १० रोपनीभन्दा धेरै क्षेत्रफलमा फैलिएको रिसोर्टमा स्विट, डिलक्स, सुपर डिलक्स गरी ४० वटा कोठा, दुई वटा बैठक हल, रेस्टुरेन्ट, बार, इन्फिनिटी स्वीमिङ पुल, स्पा, साउना र बगैँचा छन् । यसका साथै एकैपटकमा ४०० गाडी राख्न मिल्ने ४ वटा पार्किङ स्थल पनि रिसोर्टभित्र छन् ।

लेकसाइडको हाइटमा रहेको रिसोर्टबाट फेवा ताल, शान्ति स्तुप, पुम्दीकोटको शिव मूर्ती र फेवा पारीको रानीवनको रमणीय दृश्य देख्न सकिन्छ । सञ्चालनमा आएको छोटो समयमै विवाह, ब्रतबन्ध, पार्टी, औपचारिक कार्यक्रम, घुम्न जाने, रमाउने सबै किसिमका व्यक्तिहरुको रोजाइ बनेको छ वरपिपल रिसोर्ट ।

रिसोर्टका सञ्चालक पर्यटन व्यवसायी जितु गुरुङ हुन् । टुरिस्ट गाइड हुँदै पर्यटन क्षेत्रमा प्रवेश गरेका गुरुङले लेकसाइडमै अर्को ‘द सिल्भर ओक्स इन’ होटल पनि सञ्चालन गर्दै आएका छन् ।

९ पुष २०७९