पर्यटक आकर्षित गर्न भादा होमस्टेमा महोत्सव गरिने


टुरिजम पाना संवाददाता धनगढी । ६ पुष २०८०

पर्यटन प्रवर्द्धनका लागि धनगढी उपमहानगरपालिका– १७ स्थित भादा थारू ‘होमस्टे’मा महोत्सव गरिने भएको छ । थारू जातिको परम्परा, रहनसहन, संस्कृति, खानपान, वेशभूषाको प्रदर्शनीमार्फत पर्यटक आकर्षित गर्न होमस्टेमा महोत्सव गर्न लागिएको हो ।

महोत्सवले होमस्टेमा पर्यटक आकर्षित गर्नुका साथै थारू जातिको संस्कृतिको प्रचारप्रसारमा पनि टेवा पुग्ने आशा गरिएको थारू होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले जनाएको छ ।

१७ पुसदेखि ६ दिनसम्म सञ्चालन हुने महोत्सवलाई करिब एक लाख दर्शकले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ ।

अवलोकनकर्ताले गोरुगाडा (लहरू)मा चढेर परम्परागत भादा थारू गाउँको अवलोकन गरेर आनन्द लिन सक्ने व्यवस्था गरिने समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले जानकारी दिए ।

थारू समुदायको मात्र बसोवास रहेको भादामा २० वटा घरमा घरवास (होमस्टे)को व्यवस्था गरिएको छ । धनगढी बजारबाट करिब १७ किलोमिटरको दूरीमा रहेको भादा गाउँमा थारू संस्कृतिसँगै परम्परागत घरहरूको अवलोकन गर्न सकिन्छ । होमस्टे स्थानीयको आयआर्जनको माध्यम बनेको छ । कोरोना संक्रमणकालयता भने होमस्टे खासै चल्न नसकेको स्थानीय बताउँछन् ।

होमस्टेमा पाहुनाका लागि थारू जातिका मौलिक परिकार ढिक्री, खरिया, फुलौरी, अन्डीको भात, खुर्मा, पनझझरा, कचरिक बरिया, घोंघी, गँगटा, सिद्रा माछा, मुसाको सेकुवा, लोकल कुखुराको मासुलगायत परिकार उपलब्ध हुन्छन् ।

त्यस्तै, पर्यटकलाई मनोरञ्जन प्रदान गर्न स्थानीयले सखिया, झुम्रा, मघौटालगायत थारू समुदायको मौलिक संस्कृति झल्कने नाच प्रदर्शन गर्नेछन् । भादा होमस्टे पुग्ने पर्यटकले गाउँनजिकै रहेको प्रसिद्ध धार्मिक स्थल बेहडाबाबा मन्दिरको पनि दर्शन गर्न सक्छन् । थारू होमस्टेको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका लागि ११ वर्षदेखि बर्सेनि भादामा महोत्सव सञ्चालन गरिँदै आएको छ ।

६ पुष २०८०