पोखरा सडक महोत्सव: पुस १२ देखि १६ गतेसम्म चल्ने


टुरिजम पाना संवाददाता काठमाडौं । ६ पुष २०८०

२५ औँ ‘पोखरा सडक महोत्सव’ यही पुस १२ देखि १६ गतेसम्म आयोजना गरिने भएको छ । फेवातालको आसपास सडकमा महोत्सव गरिने आयोजक रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान)ले जानकारी गराएको हो ।

‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ पोखरा सडक महोत्सव आयोजना गरिँदै आएको छ । आन्तरिक र बाह्य पर्यटकलाई अंग्रेजी वर्षको गन्तव्यस्थल’का रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको रेबानले जनाएको छ ।

महोत्सवमा २५ वटा खानाका स्टलहरु, हस्त कला र अर्गानिक खानाका परिकारका स्टलहरु निशुल्क रहने छन । त्यस्तै, महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, खुल्ला भेट्रान टेनिस प्रतियोगिता, वेटररेस लगायतका कार्यक्रम रहने आयोजकले जनाएको छ ।

महोत्सवमा नेपालको पर्यटन क्षेत्रको विकासका लागि टक शोहरु समेत आयोजना गरिने आयोजकले जनाएको छ । त्यसैगरि महोत्सवमा आउने दर्शकका लागि सुरक्षा व्यवस्था कडा पारिएको समेत आयोजकले जनाएको छ ।

महोत्सवबाट ८० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको रेबान पोखराका अध्यक्ष नरेश भट्टराईले बताए ।

६ पुष २०८०