भक्तपुरको नलिञ्चोकमा नवनिर्मित हेलिप्याडमा पाइटलहरुले उडान बन्द गरेका छन् ।
उनीहरुले सुरक्षाको कारण देखाउँदै उडान बन्द गरेका हुन् । सुरक्षा संवेदनशिलतामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) गम्भीर नभएको भन्दै उनीहरुले उडान नगर्ने निर्णय गरेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टरहरुको चाप बढ्दै गएको भन्दै यही असार ७ गतेदेखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले उक्त हेलिप्याड उद्घाटन गरेका थिए । तर उद्घाटन भएको दुई साता नबित्दै पाइलटहरुले बिहीबारदेखि उडान बन्द गरेका हुन् ।
पाइलटहरुले आफूहरुले लिखितरुपमै यही असार १६ गते सुझाव दिँदा पनि सुधार नभएको भन्दै ३७ जना पाइलट आन्दोलित बनेका हुन् ।उनीहरुले टेलिफोन र विजुलीको तार हटाउन समेत आग्रह गरेका थिए । तर सञ्चालनमा आइसक्दा पनि प्राधिकरणले काम भने सुरु गरेको छैन । यद्यपि यसका लागि ४० लाख रुपैयाँ भने बिनियोजन गरिसकेको प्राधिकरणको भनाइ छ ।
कूल ३३ रोपनी क्षेत्रफलमा ११ करोड ९० लाख रुपैयाँ लागतमा निर्माण भएको हेलिप्याडमा यात्रु जाँच, इन्धन केन्द्र र टावर भने अझै निर्माण भइसकेको छैन । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टरहरुले ग्यालिनमा इन्धन लैजानुपरेको अवस्था छ ।
पाइलटहरुले आफूहरु कारबाही भोग्न तयार रहेको तर यही अवस्थामा उडानका लागि तयार नभएको स्पष्ट पारिसकेका छन् । तर प्राधिकरणले भने उद्घाटन अघि प्राविधिक जाँच गरेपछि मात्रै उडानका लागि योग्य भएपछि सञ्चालन गरिएको दाबी गरेको छ । क्यानले पाइलटहरुले भने जस्तो नभएको बताइसकेको छ ।
क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्राधिकरण पाइलटका गुनासा सुन्न र आवश्यक परे सम्बोधनका लागि तयार भएको तर पाइलटहरुले पनि नलिञ्चोकमा व्यवस्थित गर्न हेलिप्याडा सारिएको भन्दै अप्ठ्यारो पार्न सारिएको हिसाबले नबुझ्न आग्रह समेत गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको उडानसँग समन्वय गरी सञ्चालन गर्दै आएको समस्यालाई समाधान गर्नका लागि उक्त स्थानमा हेलिप्याड सारिएको दाबी गरे ।
प्राधिकरणले भने सो समस्या समाधानका लागि बुधबार एक उच्च स्तरीय समिति गठन गरी अध्ययन सुरु गरिसकेको छ । जसमा पाइलटहरुलाई पनि समावेश गरिएको प्राधिकरणको भनाइ छ ।
पाइलटले भने हेलिपोर्टमा समस्या देखिादा पनि सुधारका लागि कुनै पनि कदम नचालेको आरोप लगाएका छन् । हेलिप्याड र सेक्युरिटी वाल एकदमै नजिक रहेको, आसपासमा ठूला घर रहेकाले टेकअफ र ल्यान्डिङमा समस्या भएको पाइटलहरुहरूको गुनासो छ । टेकअफ र ल्यान्डिङका लागि ७० देखि १०० मिटरको दूरी खाली हुनुपर्छ ।
प्राधिकरणले हेलिपोर्टबाट १२ कम्पनीका कम्तीमा एक÷एक हेलिकप्टर नलिनचोकबाट अनिवार्य सञ्चालन गर्न निर्देशन दिएको थियो ।