भूकम्पले जीर्ण बनेकाे भद्रकाली मन्दिर परिसर पुनःनिर्माण सुरु गरिएको छ ।
२०७२ को भूकम्पले मन्दिर जीर्ण भए पनि अझै पुनःनिर्माण हुन सकेको थिएन । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले बिहिबार मन्दिर परिसर पुनःनिर्माणको शिलान्यास गरेके थिइन् । उनले मन्दिर सबै श्रद्धालुहरुको आस्थाको केन्द्र भएको र यसको प्राचीनता बचाउनसके सबैले गर्व गर्न सकिने बताइन् ।
करिब ३४ करोड ८० लाख ७१ हजार रुपैयाँ लागतमा मन्दिरको दक्षिण पश्चिमबाट पुनःनिर्माण सुरु गरिएको हो । मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना छन् । पुनःनिर्माणको काम तुल्सी अम्बुजा जेभीले पुनःनिर्माणको ठेक्का पाएको कामपा सम्पदा तथा पर्यटन विभागका वरिष्ठ इञ्जिनियर रविन्द्र रिजालले बताए । कामपाले निर्माण पक्षसँग गत जेठ ६ गते सम्झौतागरी यही असार ३ गते कार्यादेश दिएको छ ।
यहाँकाे ढोका, झ्याल, थाम परम्परागत नेवारी शैलीमा कुँदिनुकाे साथै छानो झिँगटीको हुनेछ । उत्तर (भृकुटीमण्डप) तर्फ दुई वटा ब्लक आपसमा जोडिने जनाइएको छ ।
दक्षिणतर्फ (नेपाली सेनाको पेट्रोलपम्पतर्फ) तीन वटा ब्लक हुने र यिनीहरु पनि आपसमा जोडिएको बनाउने महानगरले जनाएको छ । निमार्ण कार्यकाे डिजाइन कामपा सहरी योजना आयोगले तयार पारेको हो । पुनःनिर्माण भवन ३९ हजार वर्गमिटरकाे क्षेत्रफलमा रहने जनाइएके छ ।
पुनःनिर्माणका क्रममा मन्दिर क्षेत्रमा भएका संरचना, शिल्प र शैलीको अभिलेखन तयार पार्ने जिम्मा पुरातत्व विभागलाई दिइएको छ । हालको संरचना भत्काएपछि सङ्कलन हुने निर्माणजन्य सामग्री पुरातत्व विभाग, गुठी संस्थान, लुमधी भद्रकालीे व्यवस्थापन समितिसहितको सहजीकरण समितिले समन्वय र व्यवस्थापन गर्नेछ ।
कामपा वडा नं ११, २१ र २२ का अध्यक्षहरु हीरालाल तण्डुकार, उदय चूडामणि बज्राचार्य र चिनीकाजी महर्जनले, भद्रकाली धार्मिक आस्थासँग जोडिएको पीठका रुपमा चिनिएको स्मारक भएको उल्लेख गरिन् ।
भद्रकाली कामपाको वडा नं ११ मा अवस्थित भए पनि यससँग सम्बन्धित जात्रा पर्व, संस्कार, संस्कृति तथा परम्परा वडा नं २२ सहित भित्री वडासँग सम्बन्धित छन् । सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले यो बहुपक्षीय सम्बन्ध राख्ने पुनःनिर्माण रहेको बताइन् ।