केही समय अगाडि मलेसियामा भएको र्याफ्टिङ विश्वकपमा नेपालले छोटो समयको तयारीका बावजुद सुखद् नतिजा निकाल्यो । मलेसिया सरकार र इन्टरनेशनल र्याफ्टिङ फिडरेशन (आइआरएफ)को समन्वयमा मलेसियामा भएको प्रतियोगितामा सहभागी हुन एक साता मात्रै नेपाल एसोसियसन अफ र्याफ्टिङ एजेन्सी (नारा)का महासचिव नारायण श्रेष्ठले सुनाए । “हामीलाई विश्वकपमा सहभागी हुन एक साता मात्रै पत्र प्राप्त भएको थियो, यद्यपि हामीले प्रतियागितामा राम्रो नतिजा निकालेका थियौँ”, उनले भने, “यदि राम्र्रो तयारी हुन्थ्यो भने हामीले विश्वकप नै जित्ने थियौँ ।”
विश्वकपमा सहभागी हुन श्रेष्ठको नेतृत्वमा ‘भोटेकोशी एड्भेन्चर क्लब’का आठ जनाको टोली मेलेसिया पुगेको थियो । मलेसियाको ‘काम्पर रिभर’ मा भएको र्याफ्टिङ रेसमा नेपाल दोस्रो भयो । साथैर्याफ्टिङ डाउन रिभरतर्फ दोस्रो र स्प्रिन्डतर्फ नेपाल तेस्रो भयो । श्रेष्ठ नेपाली टोलीको प्रशिक्षक थिए ।
विश्वकपमा पाँच वटा देशबाट १९ टोली सहभागी थिए । तर नेपालले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेर आउँदा पनि सरकार बेखबर रहेकोमा श्रेष्ठको चित्त दुखाइ छ । त्यति मात्रै होइन, सुर्खेतमा हुन लागेको ‘१० औँ राष्ट्रिय खेलकुद’बाट र्याफ्टिङ खेल हटाइएको प्रति पनि उनी बेखुस छन् । यद्यपि उक्त प्रतियोगितामा र्याफ्टिङलाई समावेश गर्न सरकारसँग लबिङ भइरहेको उनले सुनाए ।
नेपालको खेल विश्वमै उत्कृष्ट
आइआरएफले नेपालको र्याफ्टिङ खेल विश्वमा नै उत्कृष्ट भनेको छ । त्यसैगरी र्याफ्टिङसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय संघसंस्था तथा प्रतिस्पर्धीहरुले पनि नेपालको र्याफ्टिङ खेल तुलनात्मक रुपमा धेरै राम्रो भएको बताउँदै आएका छन् । तर पछिल्लो समय नेपालका खोलानालामा भइरहेको अतिक्रमण, नदीनालामा ढल मिसिँदै जाँदा नेपाल यो श्रेणीबाट बाहिरिने खतरा रहेकोमा महासचिव श्रेष्ठले चिन्ता व्यक्त गरे ।
नेपालमा र्याफ्टिङ
कुनै समय नेपालको नदीमा जलयात्रा गर्न विदेशीहरु कायकिङ गर्ने बोट बोकेरै नेपाल आउथे । जलयात्रा गरिसकेपछि महङगो रुपैयाँ तिरेर ल्याएको उक्त बोटलाई उनीहरुले सस्तो मूल्यमा नेपालीलाई बेचेर स्वदेश फर्कन्थे । यसरी विदेशीले छाडेर गएका बोटहरु नेपालमा संकलन हुँदै गए । तीनै बोटबाट जलयात्रा गर्ने क्रममा नेपालमा र्याफ्टिङ व्यवसाय प्रर्वद्घन हुँदै गएको हो ।
सिन्धुपाल्चोक बलेफी–५ गाउँपालिकामा जन्मिएका ३९ वर्षे श्रेष्ठ यस क्षेत्रमा लागेको १३ वर्ष भयो ।

सुरुआतमा नेपालको र्याफ्टिङ व्यवसाय विदेशीको भरमा मात्रै थियो । विस २०७२ को महाभूकम्प अगाडि र्याफ्टिङ गर्नेमा विदेशी र स्वदेशीको संख्या बराबरी जस्तै थियो । तर पछिल्लो समय भने र्याफ्टिङ व्यवसाय ९३ प्रतिशत स्वदेशी पर्यटकमा निर्भर छ । टिकट बुकका आधारमा नेपालमा र्याफ्टिङ गर्न आउने विदेशी पर्यटक तीन प्रतिशत मात्र रहेको उनको भनाइ छ । नेपाल सरकारसँग र्याफ्टिङ क्षेत्रलाई लिएर कुनै पनि स्पष्ट नीति नियम नभएका कारण विदेशी पर्यटक नेपाल आउन नसकेको उनको बुझाइ छ ।
नेपालका ‘हिमालयन रिभर गाइड’ विश्वमा नै उत्कृष्ट
नेपालका र्याफ्टिङ गाइडहरु ‘हिमालयन रिभर गाइड’ का रुपमा विश्वमा नै परिचित रहेको उनी सगौरव सुनाउँछन् । उनी नभन्छन्, “नेपाली गाइडहरु संसारभरको र्याफ्टिङ क्षेत्रमा पहिलो रोजाइमा पर्छन् । नेपाली गाइडले संसारको कुनै पनि देशमा सिधै काम गर्न पाउँछन् ।” उनका अनुसार साउदी अरबले सन् २०२४ मा ६० जना नेपाली गाइड माग गरेको छ । तर मागअनुरुप भने नेपाली गाइडको संख्या भने कम छ ।
नेपाली गाइड संसारको जुनसुकै नदीमा जलयात्रा गर्न सक्छन् । धेरैलाई लाग्न सक्छ लामो समय र्याफ्टिङ क्षेत्रमा काम गर्ने गाइडले मात्र यस्तो साहासिक काम गर्न सक्छन् । दक्ष गाइडको लाइसेन्स प्राप्त गर्न नारामा दुई वर्ष सहायक गाइड भएर काम गर्नुपर्छ । नेपाल एकेडमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम)बाट सैद्घान्तिक ज्ञानको आधिकारिक मान्यता प्राप्त गरिसकेपछि सफल नेपाली गाइडको रुपमा स्थापित हुन सकिन्छ । यी गाइडहरु संसारको जस्तोसुकै खोलामा र्याफ्टिङ गराउन सक्षम हुने उनको दाबी छ ।

नाराले वार्षिक १ सय ५० को हाराहारीमा यस्ता जनशक्ति उत्पादन गर्दै आएको छ । उनका अनुसार यसरी प्रशिक्षण पाएका नेपाली गाइडको विदेशमा उच्च माग छ । वर्तमान अवस्थामा नेपालमा नै नेपाली गाइडको अभाव देखिएको उनको भनाइ छ । विदेशमा नेपाली गाइडलाई सम्मानसाथ राम्रो पैसा तिरेर काम दिने भएकाले नेपाली गाइड वर्षे विदेशीने क्रम बढेको उनले सुनाए ।
वर्षमा छ महिना (सिजनल) काम गरेर राम्रो आर्थिक उर्पाजन गरिरहेका नेपाली गाइड क्षेत्रमा विश्वमै अब्बल मानिन्छन् । एउटा र्याफ्टिङ बोटमा आठ जनाको टिम हुन्छ । जसलाई दुई वटा कायकले तीन सेकेण्डभित्र उद्घार गरिसक्छन् । एउटा कायक बोटमा एक जना गाइड हुन्छन् ।
नाराबाट दुई वर्ष अगाडि ५२ महिलाले र्याफ्टिङ ट्रेनिङ लिएका थिए । जसमा ३० जनाले लाइसेन्स प्राप्त गरे । लाइसेन्स प्राप्त महिला गाइडहरु यस क्षेत्रका क्रियाशील भएर लागेको उनी बताउँछन् ।
जापानमा मात्र वर्षेनी चार सयभन्दा बढी नेपाली गाइड जाने गरेको उनी बताउँछन् । नेपाली गाइड जुनसुकै समयमा विदेश जान र नेपाल आउनसक्ने व्यवस्था छ । नेपाल सरकारले र्याफ्टिङ क्षेत्रको महत्व बुझ्न नसक्दा नेपाली गाइडलाई स्वदेशमा काम दिन नसेको उनको गुनासो छ ।
र्याफ्टिङ क्षेत्रमा देखिने अभद्र व्यवहारलाई रोक्न नाराले लाइसेन्स अनुमतिमा आचारसंहितालाई अनिवार्य पालना गर्नुपर्ने मापदण्ड बनाएको छ । नेपालमा ६ हजार खोलानाला छन् । जसमध्ये १६ वटा खोलानालामात्रै र्याफ्टिङ अनुमति छ । नेपालमा हिमालबाट बगेर आएका खोलानाला धेरै छ । नेपालको नदीमा १२ महिना नै र्याफ्टिङ गर्न सकिन्छ । विदेशीलाई नेपालको ¥याफ्टिङमा लोभ्याउने यिनै विशेषता भएको उनको अनुभव छ । विदेशको र्याफ्टिङ व्यवसाय नेपालको जस्तो गतिशी छैन । जाडो समयमा त्यहाँको खोलानाला बरफमा परिणत हुन्छन् ।
नेपालमा ‘र्याफ्टिङ वल्र्ड कप’को तयारी
महासचिव श्रेष्ठ हाल सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा र्याफ्टिङ वर्ल्ड कप’को तयारीमा छन् । यसका लागि नारा स्रोत र साधनले सक्षम भएको उनले बताए । विश्वमा अहिलेसम्म एक सय ८० किमि मात्र र्याफ्टिङ यात्रा भएको छ ।
नाराकै अग्रसरतामा नेपालको कर्णाली खोलामा २४८ किमिमा र्याफ्टिङ रेस गर्न लागिएको छ । विश्वमै पहिलो पटक लामो दुरीको जलयात्रा नेपालले गर्न आयोजना लागेकोमा उनी निकै खुसी छन् । पाँच दिनको यो जलयात्राले नेपालको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा राख्न सकिने उनको भनाइ छ ।
संसारभरका २५ देखि ३० देशले यस खेलमा सहभागिता जनाउने अनुमान उनले गरेका छन् । नेपालको जलयात्राले विश्व पर्यटन क्षेत्रमा प्रवद्र्घन गर्न धेरै टेवा पुग्नेमा उनको विश्वास छ । आयोजनाको तयारी अन्तिम चरणमा पुगे पनि नेपाल राष्ट्रिय खेलकुद परिषद्मा नाराले सदस्यता नपाएकै कारण खेल रोकिएको उनको भनाइ छ । परिषद्मा ‘र्याफ्टिङ क्यानोइङ संघ’ नामको कम्पनी दर्ता भएको हुँदा नाराले सदस्यता पाउन नसकेको हो ।

परिकल्पनामा ‘ह्वाइट वाटर सेन्टर’
श्रेष्ठ नारामा कोषाध्यक्ष हुँदा नै ‘ह्वाइट वाटर सेन्टर’ स्थापनाको परिकल्पना गरेका थिए । उनले विसं २०७५ देखि परिकल्पना गरेको यो सेन्टर सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा निर्माणाधीन छ । सेन्टरको भौतिक निर्माण गर्न नेपाल सरकारले १८ करोड रुपैयाँको बजेट छुट्याएको छ । नाराको मातहतमा बन्न लागेको यस सेन्टरको ९५ प्रतिशत काम भइसकेको उनले बताए । यो सेन्टर सञ्चालन भएपछि स्वदेशी तथा विदेशीहरुले नेपालको र्याफ्टिङबारे पढ्न पाउनेछन् । साथै सेन्टरले ‘हिमालयन जलयात्रा खेल’ (हइट वाटर स्पोर्ट) आयोजना गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय र्याफ्टिङ खेल आयोजना गर्ने, तथा रिभर गाइडलाई प्रवद्र्घन गर्ने उद्देश्य लिएको छ ।