भानु जन्मस्थल ‘रामायण घर’मा खानेपानीको व्यवस्था


वसन्त पौडेल भानु । ८ श्रावण २०८०

आदिकवि भानुभक्त आचार्यको जन्मस्थल रामायण घरमा खानेपानी ल्याइएको छ ।

भानुभक्त नगरपालिका, नेपाली सेना तथा स्थानीयको सक्रियतामा भानुको जन्मस्थल रामायण घरमा सोमबार खानेपानी ल्याइएको हो ।

रामायण घरमा खानेपानी नहुँदा गाउँबाट करिब ३ किलोमिटर टाढाबाट पानी बोकेर लैजानुपर्ने बाध्यता थियो । पानी पुगेसँगै त्यहाँ अब पर्यटकीय चहलपहल हुने नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले विश्वास व्यक्त गरे ।

नगर प्रमुख त्रिपाठीको संयोजनमा रामायण घरमा खाती थोकदेखि खानेपानी ल्याइएको हो । नगरपालिकामा रहेको ४ क्वाइल पाइपको प्रयोग गरि सेनाको रुरु भैरव गण र स्थानीयको सहयोगमा खानेपानी ल्याइएको नगर प्रमुख त्रिपाठीले जानकारी दिए ।

उनका अनुसार, भानुको घरमा खानेपानीको सहज पहुँच स्थापना गरिएसँगै पिकनिक तथा अन्य कार्यक्रम गर्नका लागि सहज हुनेछ ।

रामायण घरमा पर्यटकको चहलपहल गराउने समेत उद्देश्यले खानेपानी व्यवस्थापन गरिएको हो ।

मंगलबारदेखि यस क्षेत्रमा नेपाल आर्मीको टोलीले सरसफाई अभियान समेत सुरू गर्ने भएको छ ।

‘साहित्यिक एवम् ऐतिहासिक पर्यटकीय गन्तव्यको रुपमा परिचित भानु जन्मस्थलमा खानेपानीको सुविधासँगै पर्यटकको चहलपहल थप बढ्ने विश्वास गरेका छौँ,’ नगर प्रमुख त्रिपाठीले भने ।

८ श्रावण २०८०