नेपाली कांग्रेसका सांसद तथा उद्योगी विनोद चौधरीले पर्यटन क्षेत्रको विकासमाफत नेपालको आर्थिक अवस्थामा आमूल परिवर्तन ल्याउन सकिने बताएका छन्।
शुक्रबार क्यापिटल नेपालले आयोजना गरेको होटलियर समिट–२०२४ कार्यक्रममा चौधरीले यस्तो बताएका हुन्। ‘पर्यटन र होटल उद्योग नेपालको सम्पूर्ण अर्थतन्त्रमा नै परिवर्तन ल्याउन सक्ने क्षेत्र हो। हिजोका दिनमा कतिपय मुलुकका पर्यटक नेपाल जाने र त्यसमा पनि सोल्टी होटलमा जाने भनेर रोजाईमा राख्थे यसर्थ, यस्ता किसिमको होटल पूर्वाधार विकास गर्नुपर्छ,’ चौधरीले भने, ‘नेपाली मौलिकता झल्कने होटल मात्रै सञ्चालनमा ल्याउन सकेमा लाखौं पर्यटक नेपालमा ल्याउन सकिन्छ।’
सांसद चौधरीले नेपाली हजाई सुरक्षामाथि पटकपटक खतरा देखिएको भन्दै यसको सुधारमा कुनै पनि कसर बाँकी राख्न नहुने बताए। पर्यटन उद्योगले नेपालको अर्थतन्त्रमा नै आमूल परिवर्तन ल्याउन सक्दछ। यसका लागि हामीले होटल तथा अन्य सम्पूर्ण पूर्वाधारको विकास र विस्तारमा काम गर्नुपर्नेछ। नेपालमा लाखौं पर्यटक भित्र्याउन र अर्बौंको आम्दानी गर्न सक्ने स्रोत र जनशक्ति भएको चौधरीको भनाइ छ।
यस्तै नेपालका लागि ट्रेकिङ व्यवसाय सबैभन्दा लोकप्रिय रहेको चौधरीले बताए। पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय भूराजनीतिका कारण सञ्चालन हुन नसकेको उनको भनाइ छ। पर्यटन क्षेत्रको विकासका लागि होटलको भूमिका पनि उल्लेख रहेको बताउँदै चौधरीले नेपालमा सरकारी स्वामित्वका भन्दा निजी क्षेत्रबाट सञ्चालित विमान कम्पनीले राम्रो सेवा दिँदै आएको बताए।
पर्यटन उद्योगले रोजगारी सिर्जनामा पनि महत्त्वपूर्ण योगदान दिँदै आएको उनको धारणा छ। ‘अरुका बारेमा भन्दिनँ, पर्यटन उद्योग नेपालका लागि महत्त्वपूर्ण छ। नेपाल भारतीय, चिनियाँ र अन्य विदेशी मुलुकका लागि उपयुक्त पर्यटन गन्तव्य हो,’ चौधरीले भने।