आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा बैशाखदेखि मोटरबोट चढ्न पाइने, कति लाग्छ शुल्क ? कसरी पुग्ने ?


टुरिजम पाना संवाददाता आँबुखैरेनी । २९ चैत्र २०८०
मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गर्ने भएको छ । वैशाख २ गतेदेखि मोटरबोट सञ्चालनमा ल्याइने कम्पनीका सञ्चालक बि.बि. (बिष्णु) ढकालले बताए।
मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सञ्चालनका लागि आँबुखैरेनी गाउँपालिकाले गत पुस ९ गते बोलपत्र आह्वान गरेको थियो ।  गाउँपालिकाले बोटेबोराको प्रस्ताव छनोट गरी मोटरबोट सञ्चालनका लागि सम्झौता गरिसकेको छ ।
वैशाख २ गते उक्त मोटरबोट सेवाको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेतले उद्घाटन गर्ने कार्यक्रम रहेको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।
सो जलाशयमा तत्काल १ करोड रुपैयाँ लगानीमा मोटरबोट सञ्चालन गर्न लागिएको सञ्चालक ढकालले बताए ।
नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङले निर्माण गरेको अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालन गरिने बताइएको छ ।
मोटरबोट सञ्चालनले मस्याङ्दीलाई आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यको रुपमा विकास गर्न सकिने कम्पनीको विश्वास छ ।
जलाशय नजिक प्रसिद्ध धार्मिक स्थल अलकादेवी पनि रहेकाले धार्मिक पर्यटकहरूलाई समेत मोटरबोटमा आकर्षित गर्न सकिने आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान बताउँछन् । साथै पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने पर्यटकलाई समेत मोटरबोटमा  आकर्षित गर्न सकिने उनको भनाइ छ ।
कम्पनीले थप ३ करोड रुपैयाँ लगानी गरी जलाशय किनारमा ‘बिच रेस्टुरेन्ट’, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टर सहितको संरचनाहरू बनाउने योजना छ ।
यस अघि नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरुलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको उनले जानकारी दिए।
कति लाग्छ शुल्क ?
मोटरबोटमा घुम्न लाग्ने समयअनुसार फरक फरक शुल्क कायम गरिएको छ । कम्पनीले ६ देखि ८ मिनेटसम्म मोटरबोटमा सयर गर्न २५० रुपैयाँ प्रतिव्यक्ति,  १० देखि १२ मिनेटसम्मको लागि प्रतिव्यक्ति ५ सय रुपैयाँ र १५ देखि २० मिनेटसम्म सयर गर्नका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क लाग्ने जनाएको छ ।
कसरी पुग्ने ?
मुग्लिनबाट पोखरातर्फ १४ किलोमिटर र डुम्रे बजारबाट काठमाडौंतर्फ १० किलोमिटर यात्रा गरेपछि बोटेबोराको मोटरबोट स्टेशन पुगिन्छ । सो स्टेशन आँबुखैरेनीबाट तीन किलोमिटर दूरीमा अवस्थित छ । उक्त रुटमा यात्रा गर्न सार्वजनिक यातायात सहजै पाइन्छ भने आफ्नै सवारीमा जाँदा पार्किङको समेत सुविधा छ ।
२९ चैत्र २०८०