बुद्ध एयरले पोखरादेखि भारतका तीन गन्तव्यमा उडान गर्ने


टुरिजम पाना काठमाडौं । २८ कार्तिक २०७९
buddha air flight
फाइल तस्वीर

निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका तीन गन्तव्यमा उडान सुरु गर्ने भएको छ । बुद्ध एयरका अनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका बनारस, दिल्ली र देहरादुनमा उडान गर्न लागिएको हो ।

‘नागरिक उड्डयन प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ को जनवरीदेखि सञ्चालनमा आउने जानकारी दिएको छ’, कम्पनीले भनेको छ, ‘त्यहाँबाट हुने पहिलो उडानका रुपमा बुद्ध एयरले पोखरा-बनारस-पोखरा उडान गर्नेछ ।’

पोखरा-बनारस-पोखराको उडान सातामा तीन दिन आइतबार, मङ्गलबार र बिहीबार हुने कम्पनीको भनाइ छ ।

एयर ट्राफिक रुटका लागि नेपाल सरकारले भारत सरकारसमक्ष पहल गरिरहेको भन्दै भारत सरकारबाट रुट र स्लट प्राप्त भएपछि पोखरा-दिल्ली-पोखरा रुटमा दैनिक दुई उडान गरिने कम्पनीको भनाइ छ ।

कम्पनीले पोखरा-देहरादुन-पोखरा रुटमा सातामा तीन वडा उडान गर्ने जानकारी दिएको छ । हाल बुद्ध एयरले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको बनारसमा उडान गर्दै आएको छ ।

बुद्ध एयर भारत उडान सुरु गरेपछि पोखरेली पर्यटन व्यवसायी गणेश बहादुर थापाले बुद्ध एयरले लिएको चुनौतीले सारा पोखराको पर्यटनलाई उज्यालो दिन सक्ने बताएका छन् । उनले बुद्व एयरको पोखरा बनारस उडानमा यात्रु भरिभराउ गराउने जिम्मेवारी पोखरेली पर्यटन व्यवसायी र महानगरपालिकाले लिनुपर्ने समेत बताएका छन् ।

बुद्ध एयरको उडानबाट पोखराको अन्तराष्ट्रिय विमानस्थलको भविष्य पनि निर्धारण गर्ने भएकाले यसलाई गम्भीर रुपमा लिन उनले आग्रहसमेत गरेका छन् ।

२८ कार्तिक २०७९