बन्दीपुरमा केबलकारको निर्माण द्रुत गतिमा, आगामी वैशाखदेखि सञ्चालनमा आउने

चारतारे होटलदेखि वाक्स म्युजियमसम्म एकै ठाउँमा


टुरिजम पाना तनहुँ । २ पुष २०७९

तनहुँको पर्यटकीय स्थल बन्दीपुरमा निर्माणाधिन केबलकारको काम द्रुत गतिमा भईरहेको छ । ०७९ वैशाखदेखि सञ्चालनमा आउने गरी केबलकारको काम भईरहेको केबलकार कम्पनी बन्दिपुर केबलकार एन्ड टुरिजम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण पोखरेलले टुरिजम पानालाई बताए ।

पर्यटकीय क्षेत्र बन्दीपुरमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यले बन्दीपुर गाउँपालिका–४, ठूलोढुंगादेखि बरालथोकसम्म १ हजार ७ सय मिटरको दुरीमा सञ्चालन गर्ने गरी केबलकार निर्माण भईरहेको छ । बन्दीपुरमा केबलकारसहित चारतारे होटेल, भ्यू टावर, वाक्स म्युजियम, रुफ टप रेष्टुरेन्ट र कन्फेरेन्स हल समेत निर्माणाधीन अवस्थामा रहेको छ ।

‘आगामी वैशाखसम्म केबलकारको सम्पूर्ण कार्य सकेर परिक्षण सञ्चालन गर्ने योजना छ, अन्य भौतिक संरचना क्रमबद्ध रुपले अबको १३ महिनामा सम्पन्न गर्ने लक्ष्य छ पोखरेलले भने ।’

पोखरेलका अनुसार सबै संरचनाको इस्टक्चरको हकमा करिब ९० प्रतिशतसम्मको काम सकिसकेको भएपनि यसको फिनिसिङको कामका लागि नै धेरै समय लाग्नेछ । २०७५ श्रावणदेखि यस केबलकारको निर्माण शुरु भएतापनि कोभिड १९ महामारीका कारण निर्माण कार्य रोकिएको थियो ।

करिब ३ अर्ब १५ करोड लगानीमा बन्न लागेको केबलकारसहितका संरचनाले बन्दीपुरमा पर्यटकको आवागमन वढ्ने अपेक्षा गरिएको छ । पहाडकी रानी उपनामनले चिनिदैं आएको बन्दिपुरलाई मुकुट लगाउने काम यो प्रोजेक्टले गर्ने पोखरेलको विश्वास छ ।

आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी क्वालिटी दिने, सुरक्षाको अनुभूती गराउने, केबलकारबाट झर्दा वित्तिकै होटलले पर्यटकलाई मोहित बनाउने लगायतका फिचर भएकाले दक्षिण एसियाकै नयाँ फिचर सहितको प्रोजेक्ट बन्ने पोखरेलको दाबी छ ।

बन्दीपुरमा केबलकारसहित पर्यटकका लागि आकर्षक गन्तब्य बनेपछि तनहुँकै मात्र नभई गण्डकी प्रदेशकै पर्यटन व्यवसायलाई सघाउ पुर्‍याउने अपेक्षा लिईएको छ ।

२ पुष २०७९