अब केबलकारमै खाने र सुत्ने सुविधा, बन्दिपुर केबलकारले ल्याउँदैछ नयाँ व्यवस्था


टुरिजम पाना काठमाडौं । ११ माघ २०७९

बन्दिपुर केबलकार एण्ड टुरिजमले नेपालमै पहिलो पटक अत्याधुनिक सुविधासहितको केबलकार सञ्चालनमा ल्याउन लागेको छ ।

आगामी नयाँ वर्षदेखि केबलकार सञ्चालनमा आउनेछ । केबलकार भित्रै खाजा/खानाका लागि रेष्टुरेन्ट र सुत्ने व्यवस्था रहनेछ । जुन नेपालमा सञ्चालनमा आएका केवलकारहरूले दिने सेवामध्ये हालसम्मकै नयाँ भएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए ।

उनका अनुसार, खाने र सुत्ने व्यवस्थाका लागि अहिले कम्पनीले काम गरिरहेको छ । यो व्यवस्था भने आगामी दशैँपछि मात्रै आउने उनको भनाइ छ ।

करिब ३ अर्ब १६ करोड रुपैयाँ लगानीमा कम्पनीले सो केबलकार सञ्चालनमा ल्याउन लागेको हो । केबलकारमा बसेर करिब १७०० मिटर लम्बाई यात्रा गर्न सकिनेछ ।

अध्यक्ष शर्माका अनुसार, केबलकारको यो सेवा नेपालका लागि नयाँ र पहिलो हो । यसअघि केबलकारले यात्रु बोक्ने र ओराल्ने मात्रै गरिरहेकोमा बन्दिपुर केबलकारले फरक सेवा सुविधाका साथमा सञ्चालनको तयारी गरिरहेको उनको भनाइ छ ।

उनका अनुसार, नयाँ सेवासुविधा सहितको केबलकारमा पर्यटक (यात्रु)ले केवलकारभित्र सुतेरै पारदर्शी सिसाबाट रमणीय प्राकृतिक स्थलको अवलोकन गरि आनन्द लिन सक्नेछन् । दक्षिण एसियामै यस्तो सुविधा दिने बन्दिपुर केबलकार पहिलो हुने अध्यक्ष शर्माको दाबी छ ।

केबलकारबाट यात्रा गरिसकेपछि साँझ ५ बजेपछि भित्रै रेष्टुरेन्ट र सुत्न मिल्ने व्यवस्था दिने कम्पनीको तयारी छ । ‘केबलकारभित्र दिइने यो सविधा आकर्षण र हट प्रडक्ट बन्छ,’ अध्यक्ष शर्माले भने,‘प्रत्येक दिनको खाली समय साँझ ५ बजेदेखि ९ बजेसम्म यो सेवा दिनेछौँ ।’

कम्पनीले केबलकारभित्रै रेष्टुरेन्ट र सुत्ने व्यवस्थाका लागि प्याकेजमा शुल्क तोकेको छ । ‘रेष्ट्रो क्याबिन’ नाम दिइएको केबलकार रेष्टुरेन्ट र ओछ्यानका लागि १ घण्टाको समय तोकिएको छ । २५ हजार रुपैयाँ शुल्कमा रेष्टुरेन्ट र ओछ्यान बुक गर्न सकिनेछ । एक घण्टाभन्दा धेरै बस्न चाहेमा पुनः बुक गर्न सकिने कम्पनीले जनाएको छ । त्यसको थप २५ हजार रुपैयाँ लाग्नेछ ।

कम्पनीका अनुसार, रेष्टुरेन्टभित्र खानाका लागि प्याकेज बनाइएको हुन्छ । जसबाट आफूलाई आवश्यक पर्ने खानेकुरा अर्डर गर्न सकिन्छ । फेरि थप्नुपरेमा भने थप शुल्क लाग्ने अध्यक्ष शर्माले जानकारी दिए ।

पर्यटनमा नयाँ योगदान दिनका लागि पनि यसले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । ‘केही क्रिएटिभ काम गर्नुपर्छ नेपालको पर्यटनमा भन्ने सोचले यो प्रोजेक्ट ल्याउन लागेका हौँ, उनले भने ।

११ माघ २०७९