अतिरिक्त समयको उडानमा प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणा अनिवार्य


नेपाल नागरिक उड‍्डयन प्राधिकरणले पहाडी क्षेत्रका छोटो धावनमार्ग भएका विमानस्थलमा हुने उडान र अवतरणको लागि तीन वटा नयाँ नियम लागु गर्ने निर्णय गरेको छ ।

पहाडी क्षेत्रका विमानस्थलमा हुने उडान सञ्चालनलाई सुरक्षित तथा व्यवस्थित बनाउनको लागि साउन ३२ गतेबाट नयाँ व्यवस्था लागु गर्ने निर्णय भएको प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

उडान र अवतरणको लागि छोटो धावनमार्ग भएका विमानस्थलमा अतिरिक्त समयमा उडान सञ्चालन गर्दा गन्तव्य, हवाई मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको ‘भीएमसी मिनिमा’ कामय भएको सुनिश्चित गरी प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणा पश्चात मात्रै उडान अनुमित प्रदान गरिने व्यवस्था गरिएको भुलले बताए ।

नेपालगञ्ज विमानस्थलबाट पहाडी क्षेत्रका विमानस्थलमा उडान गर्दा वायुसेवा कम्पनीले नेपालगञ्ज विमानस्थलमा अनिवार्यरुपमा फ्लाइट अपरेसन अफिसरको व्यवस्था गर्नुपर्ने निर्णय पनि प्राधिकरणले गरेको छ । त्यसैगरी, उडान सञ्चालन सम्बन्धी सम्पूर्ण कार्य फ्लाइट अपरेसन अफिसरमार्फत गर्नुपर्ने प्राधिकरणले निर्णय गरेको भुलले बताए ।

प्राधिकरणले पहाडी क्षेत्रका र छोटो धावनमार्ग भएका विमानस्थलको सञ्चालन समय पुनरावलोकन गर्ने तथा इनरुट वेदरको उपलब्धता बारे अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशकको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको भुलले जानकारी दिए ।

३२ श्रावण २०८०