नेपालमा खेल पर्यटनको सम्भावना प्रचुर रहेको चर्चा बेला बेलामा बेजोडका साथ उठ्ने गर्छ ।
भारत पाकिस्तानको क्रिकेट नेपालमा खेलाउने, फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने, हाइ अल्टिच्युड खेलको आयोजना गर्ने आदि इत्यादि हल्लाहरू चल्छ, फेरि सेलाउँछ। अहिले प्रसङ्ग गल्फ पर्यटनको हो ।
नेपाल गल्फ पर्यटनको लागि सुन्दर गन्तव्य भएको चर्चा चलेको पनि धेरै भइसक्यो । गल्फमा संलग्न व्यक्तिहरूका अनुसार नेपालमा गल्फ पर्यटन आकर्षित हुने ती सबै प्राकृतिक वातावरण छन्, जसका कारण विश्वभरका गल्फरहरु नेपालमा आउन सक्छन् ।
सुरुमा कतिपयलाई भ्रम हुने गर्छ कि गल्फ खेल भनेको धनीहरूले खेल्ने खेल मात्रै हो । पर्यटनको बढावा दिने खेल भनेको फुटबल क्रिकेट जस्ता खेलहरुमात्र हुन्, जुन खेल हेर्न हजारौं दर्शकहरू उपस्थित हुने गर्छन् ।
त्यसैले सबैभन्दा पहिले यो बुझ्न जरुरी छ कि गल्फमा यति धेरै पेशेवर खेलाडी र दर्शकहरू हुन्छन्, जसले गर्ने खर्च अन्य खेलमा देखिने हजारौँ दर्शकको भन्दा बढी हुने गर्छ । र, विश्वमा गल्फ पर्यटनमा सफल भएका देशहरूले वर्षमा अर्बौँ डलरको व्यापार भित्र्याइरहेका छन्।
नेपालमा के छ ?
हिमालको काखामा अवस्थित नेपालको प्राकृतिक वातावरण र बाहै महिना खेल्न सकिने मौसम नै नेपालमा गल्फको व्यावसायिकीकरण गर्न सकिने मुख्य आधार हो । मध्यपूर्वको दुबई जस्तो गर्मी मौसम नेपालको होइन । न त बारम्बार हिउँ परिरहने मौसम नै नेपालमा छ।
पोखराको हिमालयन गल्फ कोर्षलाई राम्रो बनाउन सके त्यो विश्वको उत्कृष्ट गल्फ मैदानमध्येको एक हुनसक्छ । अर्कोतर्फ नेपालमा १२ मध्ये ८ महिना आरामसँग गल्फ खेल्न सकिने मौसम छ । अन्य देशहरूमा यति राम्रो मौसम अरू थोरै देशहरूमा मात्र देख्न सकिन्छ ।
फेरि नेपाल वरपरका थुप्रै राष्ट्रहरू गल्फ खेल्न जान रुचाउने स्वभावका छन् । छिमेकी चीन र भारत, दक्षिण कोरिया र जापानका गल्फरहरु बाहिर गएर खेल्न रुचाउने गर्छन् । यी देशहरूको नजिकको ‘गल्फ डेस्टिनेसन’ नेपाल बन्न सक्छ।
गल्फ पर्यटकको विशेषता के ?
गल्फ पर्यटक भनेको सौखिन र मज्जाले खर्च गर्नेहरूको जमात भनेर चिनिन्छ ।
नेपाल घुम्न आउने सामान्य पर्यटकहरूले दिनमा ३० देखि ४० डलर खर्च गर्छ भने गल्फ खेल्न आउने पर्यटकले दिनमा २५० डलर भन्दा बढी खर्च गर्ने गर्छन् । यदि प्रिमियम दर्जाको खेलाडीहरू आउँछन् भने तिनीहरूले दैनिक एकहजार डलर सम्म खर्च गर्ने गर्छन् ।
त्यसैले थोरै खेलाडी पनि गल्फ खेल्न नेपाल आउँछ भने उनीहरूले गर्ने खर्च अन्यको दाँजोमा बढी हुने गर्छ । जसले राज्यलाई फाइदा पुग्ने गर्छ । अर्कोतर्फ गल्फ पर्यटनले विश्वव्यापी रूपमा गर्ने प्रचार–प्रसार ‘माउथ पब्लिसिटी’ को महत्व अन्य तरिकाले गर्ने विज्ञापन भन्दा बढी प्रभावकारी हुने गर्छ।
आधारभूत मैदानको अभाव
यति धेरै सम्भावना हुँदा हुँदै पनि नेपालमा गल्फ पर्यटन किन फस्टाउन सकेको छैन त ? यसको मुख्य कारण नेपालमा आवश्यक न्यूनतम गल्फ कोर्ष नहुनु नै हो । अर्को तर्फ गल्फ पर्यटनको महत्त्व राज्यले बुझ्न नसक्नु देखिन्छ ।
नेपाल प्रोफेसनल गल्फर एसोसिएसनका महासचिव तथा पूर्व राष्ट्रिय खेलाडी दीपक आचार्य भन्छन्, “नेपालमा विश्वभरबाट गल्फ खेल्न आउने सङ्ख्या मज्जाले बढ्न सक्छ । तर त्यसको लागि कम्तिमा ६/७ वटा विश्व स्तरीय गल्फ कोर्षको निर्माण हुन जरुरी छ।”
नेपालमा अहिले विश्वस्त गल्फ कोर्सको रूपमा गोकर्णमा अवस्थित गोकर्ण गल्फ कोर्समात्र छ भन्दा फरक पर्दैन । पोखराको हिमालयन गल्फ कोर्स, त्रिभुवन विमानस्थल नजिकैको रोयल नेपाल गल्फ क्लब र धरानमा धरानमा गल्फ कोर्स छ ।
तर गल्फलाई व्यापार बनाइरहेका देशहरूमा सयौँको सङ्ख्यामा गल्फ कोर्सहरू बनेको देखिन्छ ।
यसको सबैभन्दा राम्रो उदाहरण भियतनामले गल्फ पर्यटनमा प्राप्त गरेको सफलतालाई लिन सकिन्छ ।
गतगर्ष २०२५ मा झन्डै २ करोड गल्फ पर्यटकले भियतनामको भ्रमण गरेका थिए । र, त्यसबाट राज्यले एक अर्ब अमेरिकी डलर भन्दा बढी आम्दानी गरेको थियो । भियतनाम सरकारले त्यसको लागि देशमा सय भन्दा बढी स्तरीय गल्फ कोर्सहरू निर्माण गरेको थियो ।
थाइल्यान्ड सरकारको मुख्य आम्दानीमा गल्फ पर्यटनको हिस्सा ५ प्रतिशत भन्दा बढी भएको तथ्याँङक छ । थाइल्यान्डमा २६० भन्दा बढी गल्फ कोर्ष छ र सरकारले त्यसबाट वार्षिक ३ देखि ४ करोड पर्यटक भित्र्याउने गर्छ।
युएईको अवस्था पनि त्यस्तै नै देखिन्छ । २० बढी गल्फ कोर्स भएको मरुभूमिको यो देशमा प्रति खेलाडीले दिनमा ३ सय देखि १०० अमेरिकी डलर बराबरको खर्च गर्ने गरेको तथ्याँङक छ ।
आचार्य भन्छन्, ” हामीले त नेपालमा जम्मा ६ देखि १० वटा गल्फ कोर्सको कुरा गरिरहेका छौँ । गल्फ टुर गर्न आउनेहरू एउटै कोर्समा खेल्ने भनेर आउँदैनन् । उनीहरू फरक कोर्समा खेल्न रुचाउँछन् । सधैँ एउटै रेष्टुरेन्ट मात्र गएर खाना खाँदैनन् भनेजस्तै हो ।”
नेपालमा पनि विश्वका थुप्रै विदेशी गल्फरहरु आएर गल्फको स्वाद नचाखेका होइनन्। उनीहरू नेपालको कोर्स देखेर दङ्ग परेर पनि फर्केका छन्। तर त्यो सङ्ख्या भने नगण्य मात्रामा छन्।
गतवर्ष गोकर्ण गल्फ क्लबमा २५ सय विदेशी गल्फरहरु खेलेर गएका थिए । यो साँच्चै नै नगन्य सङ्ख्या हो ।








