चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको राजस्व भुक्तानी अब अनलाइनबाटै गरिने


टुरिजम पाना काठमाडौँ । । १९ चैत्र २०८०
तस्वीर: बाराही जंगल लज, मेघौली

चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाने पर्यटकहरुका लागि जिप ब्यवसायीले अब लामो लाइन बसेर पर्यटक र सवारीको राजस्व तिर्ने झन्झट बेहोर्नु नपर्ने भएको छ । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्ज प्रवेशका लागि कागजी टिकटको साटो अनलाइनबाटै टिकट काट्ने व्यवस्था गर्न लागेको हो ।

निकुञ्जका प्रवक्ता गणेश तिवारीका अनुसार निकुञ्जले अनलाइनबाटै राजस्व तिर्ने व्यवस्थाका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग छलफल सुरु गरेको छ ।

“अनलाइनबाट राजस्व तिर्ने व्यवस्थाका लागि विभाग र विभिन्न वालेट सञ्चालकहरुसँग छलफल सुरु गरेका छौँ”, उनले भने, “अहिले प्रारम्भिक छलफल सुरु गरेका छौँ ।” विभागले यसअघि शिवपुरी र नागार्जुनमा अनलाइनबाट  भुक्तानी गर्ने व्यवस्था गरिसकेको छ ।

उनका अनुसार हाल चितवन राष्ट्रिय निकुञ्जमा वार्षिक तीन लाखभन्दा बढी पर्यटकले अवलोकन गर्ने गरेका छन् । जसमध्ये विशेष गरी सौराह, कसरा, मेगौली, वनकट्टा र अमलटारीलगायतका स्थानबाट टिकट काट्ने व्यवस्था छ ।

“सौराह र कसरालगायतका स्थानमा राजस्व तिर्न लामो लाइन लाग्नुपर्ने अवस्था छ । यो अवस्था अन्त्य गर्नका लागि पनि अनलाइनबाट भुक्तानी गर्ने व्यवस्था हुनु जरुरी छ”, उनले भने, “कागजको खर्च पनि बचत हुने र पर्यटकका लागि पनि सहज हुने भएकाले सो व्यवस्था गर्न लागिएको हो ।” उनका अनुसार हाल सौराहमा राजस्व बुझ्नकै लागि दरबन्दीभन्दा बढी कर्मचारी खटाइएको छ ।

यद्यपि पर्यटकले व्यक्तिगत रुपमा भन्दा पनि होटल तथा जिप व्यवसायीहरुले सामुहिक रुपमा भुक्तानी गर्ने गरेका छन् । “चितवनमा पर्यटकहरुले व्यक्तिगत रुपमाभन्दा पनि होटल व्यवसायी र जिप सफारी सञ्चालकले कागजपत्र ल्याएर सामूहिक रुपमा भुक्तानी गर्ने गरेका छन् । उनीहरुलाई अनलाइनबाट भुक्तानी गर्दा धेरै सहज हुने अपेक्षा गरेका छौँ”, उनले भने ।

हाल चितवन राष्ट्रिय निकुञ्ज प्रवेशका लागि नेपाली नागरिकलाई रु एक सय ५०, सार्क राष्ट्रका नागरिकलाई रु एक हजार र विदेशी पर्यटकलाई प्रतिव्यक्ति रु दुई हजार लाग्छ । साथै जित सफारीका लागि प्रतिजिप रु पाँच हजार शुल्क तोकिएको छ ।

देशभरका कुल राष्ट्रिय निकुञ्जमध्ये चितवनमा सबैभन्दा बढी पर्यटक आउने गरेका छन् । यस निकुञ्जले गत आर्थिक वर्षमा मात्रै रु ३० करोड राजस्व सङ्कलन गरेको थियो ।

१९ चैत्र २०८०