दक्षिण एसियाकै पहिलो सुरुङ ‘चुरियामाई’ अब नयाँ पर्यटकीय गन्तव्य


टुरिजम पाना चुरियामाई । १५ श्रावण २०८१

दक्षिण एसियाकै पहिलो मानव निर्मित सुरुङमार्ग ‘चुरियामाई सुरुङमार्ग’ अब पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ । सोमबार वाग्मती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले सुरुङको अवलोकन तथा निरीक्षण गरी सुरुङलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने र सोहीअनुसार काम भइरहेको बताए ।

वाग्मती प्रदेश यातायाता पूर्वाधार निर्देशनालका निर्देशक पुष्कर प्रसाद पोख्रेलले चुरियामाई सुरुङलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि स्थानीय तहसमक्ष प्रस्ताव माग गरिएको बताए । उनले गत जेठदेखि नै प्रस्ताव माग गरिएको अहिले स्थानीय तहले प्रस्ताव चाँडै पेस गर्ने आफूले जानकारी पाएको बताए ।

साथै सोही कार्यालयका इन्जिनियर हरिप्रसाद ओझाले हेटौँडा उपमहानगरपालिका यसका लागि परेको र चाँडै पर्यटक घुम्न पाउनेमा विश्वास व्यक्त गरे । उनले भने, “स्थानीय तहसँग छलफल चलिरहेको छ, अब चाँडै पर्यटक घुम्न पाउने छन्, स्थानीय तहले नै सञ्चालन गर्ने भए पनि हामी स्थानीय तहको कार्यविधि पर्खाइमा छौँ ।”

बारा र मकवानपुर जिल्लाको सीमानामा रहेको चुरे पहाडलाई खोपेर विसं १९७४ मा पाँच सय मिटर लामो सुरुङमार्ग खनिएको थियो । यो दक्षिण एसियाको पहिलो पहिलो सुरुङमार्ग हो । यसलाई तराईको अमलेखगञ्ज र काठमाडौँका लागि सुरुआत विन्दुका रुपमा रहेको भीमफेदीलाई राजमार्गका रुपमा जोडी काठमाडौँ र रक्सौलालाई जोड्ने व्यापारिक मार्गको स्वरुप दिइएको थियो ।

यस सुरुङमार्गको प्रवेश विन्दु धार्मिक हिसाबले महतवपूर्ण रहेको चुरियामाई मन्दिरको क्षेत्र छ । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जवराले सुरुङ निर्माणका लागि देशकै पहिलो इन्जिनियर डिल्लीजंग थापालाई जिम्मेवारी दिएका थिए । उक्त समयमा यो सुरुङमार्ग निर्माणको उद्देश्य व्यापारिक दृष्टिकोणले महत्वपूर्ण रहेको भारतको रक्सौल र नेपालको सुक्खा बन्दरगाहकोे रुपमा विकास गर्न सकिने भीमफेदीबीचको दूरी घटाइ सहज पहुँच निर्माण गर्नु थियो ।

तत्कालीन समयमा चुरेको पहाडलाई मानिसहरूले हाते औजारको प्रयोग गरेर खनेको ठानिएको थियो । सुरुङमा माथिबाट माटो नभासियोस् भनेर फलामका डन्डी, काठ र सिमेन्ट जस्तै लाइम कङ्क्रिट प्रयोग भएको भेटिएको थियो ।

मुलुककै पहिलो मानव निर्मित सुरुङमार्गको मर्मत सम्भार र संरक्षण गर्न सकेमा ऐतिहासिक, राजनीतिक तथा तत्कालीन सामाजिक अवयवहरुलाई जीवन्त तुल्याउन सकिने विश्वास गरिएको छ । यसबाट यस क्षेत्रलाई पर्यटन गन्तव्यका रुपमा विकास गर्न सहज हुन्छ भन्ने उद्देश्यले वाग्मती प्रदेश सरकारबाट यसको मर्मत सम्भार तथा संरक्षणको सुरुआत भएको थियो ।

पर्यटन क्षेत्रको उचित व्यवस्थापनबाट स्थानीय क्षेत्रमा असंख्य अवसरहरु प्राप्त हुने अपेक्षा गरिएको छ । यस आयोजनामा हाललाई मुख्य गरी मर्मत तथा दीर्घकालीन रुपमा पार्किङ क्षेत्र समेत निर्माण गर्ने योजना छ । यसको मुख्य उद्देश्य ऐतिहासिक तथा धार्मिक महत्वको चुरिया क्षेत्रमा रहेको सुरुङमार्गको उचित संरक्षण तथा जर्गेनाबाट आन्तरिक पर्यटनलाई टेवा पुर्याउनु हो ।

प्रदेशको ऐतिहासिक सम्पदाको रुपमा रहेको चुरियामाई सुरुङलाई संरक्षण गरी ऐतिहासिक यातायात पूर्वाधार अध्ययन केन्द्रका रुपमा विकास गर्ने लक्ष्य प्रदेश सरकारको रहेको छ ।

हेटौँडा–१५ चुरियामाईमा रहेको चुरियामाई सुरुङ पुनःनिर्माणका लागि आर्थिक वर्ष २०७७÷७८ मा ठेक्का लागेको थियो । माउन्टेनइन्फ्रा कम्पनी लिमिटेड स्युचाटार काठमाडौँले ठेक्का पाएको थियो । तत्कालीन समयमा पुनःनिर्माणका लागि चार करोड ५७ लाख २० हजार ७०६ रुपैयाँ लागत अनुमान गरिएकोमा तीन करोड ४६ लाख ११ हजार ४४४ रुपैयाँमा ठेक्का सम्झौता थिएको थियो । प्रदेश सरकारका अनुसार पुनः निर्माणको यथार्थ लागत भने तीन करोड ७५ लाख ७९ हजार ९८१ रुपैयाँ रहेको छ ।

विसं २०७८ वैशाख १९ गते आयोजना सम्झौता गरी २०८० माघसम्म पुनः निर्माण सक्ने आयोजनाको उद्देश्य थियो । पुनःनिर्माणअन्तर्गत कूल २२५ मिटर लम्बाइ र २.५ मिटर चौडाइ, तीन फिट उचाई सुरुङ निर्माण गर्नु थियो ।

स्थानीय तहलाई जिम्मेवारी
मन्त्री मास्केले स्थानीय तहलाई जिम्मेवारी दिइ सुरुङलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने बताए । उनका अनुसार टिकट काउन्टर स्थापना गरी स्थानीयको जिम्मामा सुरुङमा पर्यटक आकर्षित गरिनेछ । यसबाट एकातिर स्थानीय तहका लागि राजस्व पनि संकलन हुने र रोजगारी पनि सृृजना हुने उनको भनाइ थियो । ऐतिहासिक सुरुङको संरक्षण, सम्बद्र्धन तथा प्रबद्र्धन गरी मुलुकको पर्यटकीय विकासमा टेवा पु¥याउने उद्देश्य लिइएको छ ।

को हुन् डिल्लीजंग थापा ?
चिरियामाई सुरुङ परिसरमा डिल्लीजंग थापाको अर्धकदको शालिक स्थापना गरिएको छ । जसमा उनलाई प्रथम ग्राजुएट सिभिल इन्जिनियर ब्रिगेडियर कर्नेल भनिएको छ । साथै सँगैको शिलालेखमा उनलाई पूर्व नेपालका गभर्नर जनरल कर्नेल यजराज सिंह थापाका नाती, कर्नेल हर्षजंग थापाका छोरा भनिएको छ । उनलाई आधुनिक नेपालको विकासका सुत्राधार पनि उल्लेख गरिएको छ ।

शिलालेखमा थापाको नेतृत्वमा हेटौँडा–काठमाडौँ रोपवे, सप्तरीको चन्द्रनगर, राजविराजको व्यवस्थित टाउन प्लानिङ, पहिलो पटक आरसीसी प्रयोग महाराजगञ्जमा लक्ष्मी निवास, विसं १९९० को भूकम्पपछि भत्किएको धरहरा, घण्टाघर र शितल निवास पनि निर्माण गरिएको उल्लेख छ । साथै काठमाडौँका अधिकांश दरबार, डिल्लीबजार चारखाल अड्डा, टोखा टिबी अस्पताल, जनकपुर–जयनगर रेल्वे, अमलेखगञ्ज–भीमफेदी सडक निर्माण पनि उनैले गरेको इतिहास छ ।

१५ श्रावण २०८१