मतदानको दिन सदर चिडियाखाना बन्द हुने


टुरिजम पाना काठमाडौं । ३ मंसिर २०७९
zoo-sadar-chidiyakhana

यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको दिन जावलाखेलस्थित सदर चिडियाखाना बन्द हुने भएको छ ।

हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म सर्वसाधारणका लागि अवलोकन गर्न खुला रहने गरेको चिडियाखाना निर्वाचनको मतदानको दिनलाई ध्यानमा राखी बन्द गर्ने निर्णय गरिएको चिडियाखाना व्यवस्थापन पक्षले जनाएको छ । हाल चिडियाखानामा विभिन्न ११० प्रजातिका एक हजार एक वन्यजन्तु छन् ।

अवलोकन गर्न विदेशीका लागि रु एक हजार, सार्क राष्ट्रका व्यक्तिका लागि रु ५०० र नेपालीलाई रु २०० शुल्क निर्धारण गरिएको छ । चिडियाखानामा वार्षिक करिब ११ लाख दर्शक अवलोकन गर्न आउने गरेका छन् । यहाँ वन्यजन्तुको रेखदेख र स्याहारका लागि हाल ६५ कर्मचारी रहेका छन् ।

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरद्वारा विसं १९८९ मा निजीरूपमा स्थापना गरिएको सदर चिडियाखाना २०११ सालदेखि मात्र सर्वसाधारणलाई खुला गरिएको थियो । चिडियाखाना २०५२ सालदेखि भने राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा व्यवस्थापन गरिएको हो ।

३ मंसिर २०७९