‘को-हजबेन्ड’ अमेरिका र क्यानडाका विश्वविद्यालयमा पढाइने


टुरिजम पाना काठमाडाैँ । २१ श्रावण २०८१

नेपालको बहुपति प्रथाका बारेमा निर्माण गरिएको वृत्तचित्र फिल्म ‘को-हजबेन्ड’ (सहायक श्रीमान्) लाई अमेरिका र क्यानडाका विभिन्न क्याम्पस र विश्वविद्यालयमा अध्ययन सामग्रीका रूपमा पठनपाठनमा सहभागी गराउने भएका छन् ।

पत्रकार गणेश पाण्डेद्वारा निर्देशित ३५ मिनेटको सो वृत्तचित्र कर्णाली प्रदेशको हुम्लामा छायाङ्कन गरिएको हो । सन् १९६८ मा अमेरिकामा स्थापित डकुमेन्ट्री एजुकेसनल रिसोर्सेसले अमेरिका र क्यानडाका क्याम्पस र विश्वविद्यालयमा सन्दर्भ सामग्रीका रूपमा पठनपाठनमा सहभागी गराउन लागेको हो ।

को–हजबेण्डले विश्वका थुप्रै देशमा दर्जन अवार्ड जित्न सफल भएको छ । यसअघि क्यानडाको टोरोन्टोमा अमेरिकन एन्थ्रोपोलिजिकल एसाेसियन र क्यानेडियन एन्थ्रोपोलोजी सोसाइटीबाट आयोजित ३६ वर्ष पुरानो सोसाइटी अफ भिजुअल इन्थ्रोपोलोजी फिल्म एण्ड मिडिया फेस्टिभलमा को-हजबेण्डले नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको थियो ।

बहुपति प्रथामा आधारित यो वृत्तचित्रमा घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि हुम्लालगायतका हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतार्नुभएको हो । करिब चार वर्षको छायाङ्कनमा सो वृत्तचित्र निर्माण गरिएको हो । साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गर्नुभएको हो ।

निर्देशक पाण्डेले मानवशास्त्रसँग सम्बन्धित अध्ययन गर्ने विभिन्न विश्वविद्यालयमा उत्कृष्ट सन्दर्भ सामग्रीको रूपमा ‘को-हजबेण्ड’ लाई समावेश गरिनु देशका लागि पनि गर्वको कुरा हो भन्नुभयो । यसअघि पनि निर्देशक पाण्डेको बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरू’ले पनि डेढ दर्जन अन्तर्राष्ट्रिय पुरस्कार जितेको थियो । रासस 

२१ श्रावण २०८१