भैरहवादेखि मानुङकोटसम्म चार दिने साइकल यात्रा सुरु


टुरिजम पाना भैरहवा । ११ कार्तिक २०७९
cycle yatra bhairahawa to damauli c

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रूपन्देहीकाे भैरहवादेखि तनहुँकाे मानुङकोटसम्म शुक्रबारदेखि चार दिन साइकल यात्रा सुरू भएकाे छ । भैरहवाकाे लुम्बिनी गेटबाट सुरू भएकाे साइकल यात्राकाे गृहमन्त्री बालकृष्ण खाणले हरियो झण्डा फहराएर शुभारम्भ गरे ।

साइकल सिटी सिद्धार्थनगरले आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादन प्रवर्द्धनका साथै नगर तथा राष्ट्रमा साइकल लेन निर्माणमा सम्वन्धित निकायको ध्यानाकर्षण गर्ने उद्देश्यका साथ आयोजना गरेको हो । भैरहवादेखि तनहुँको ‘रम्भा-मानुङकोटको ४ दिने साइकल यात्रा’ प्रारम्भ गरेको साइकल सिटीका अध्यक्ष सूर्यकुमार सारु मगरले जानकारी दिए ।

साइकल यात्रीलाई बिदाइ गर्ने क्रममा मन्त्री खाणले पछिल्लो समय साइकल यात्रा गर्नेहरुको संख्या बढ्दै गएको बताउँदै यसले आन्तरिक पर्यटन प्रवर्धन र वातावरण संरक्षणमा सहयोग पुग्ने बताए ।

शुक्रबार भैरहवाबाट सुरु भएको यात्रा पाल्पा रामपुर हुँदै तनहुँको मानुङकोट पुग्ने यात्राका संयोजक राजेश खरेलले जानकारी दिए । यात्राको पहिलो दिन भैरहवाबाट सुरु भई बुटवल, पाल्पाकाे बर्तुंग, आर्यभज्यांग, चितीपानी, हुमिन हुँदै ताहुँ धोबाधि पुग्नेछ ।

दोश्रो दिन धोबाधिबाट यात्रा सुरु गरी रम्भादेवी मन्दिर,ताहुँ बजार,बिर्कोट,रामपुर हुँदै भिमाद बजार पुग्नेछ । तेश्रो दिन भिमाद बजारदेखि खैरेनीटार,जामुने भन्ज्यांग,चापाघाट हुँदै मानुङकोटसम्म पुग्ने संयोजक खरेलले जानकारी दिए ।

चौथो दिन साेमबार मानुङकोटदेखि दमौली बजारसम्म साइकलमा पुग्नेछन् । साइकल यात्रीहरु दमौलीबाट भैरहवा भने बसमार्फत फर्किने छन् । यात्रामा १६ साइकल यात्री सहभागी छन् ।

साइकल सिटीले यस अगाडी आन्तरिक पर्यटन प्रवद्र्धनका लागि भैरहवादेखि बर्दियासम्मको यात्रा गरिसकेको छ ।

११ कार्तिक २०७९