आहा ! दाम्राङ: लमजुङ जिल्लाको सुन्दर ‘हिल स्टेसन’


विष्णुकान्त घिमिरे दाम्राङ । ६ चैत्र २०७९

लमजुङ जिल्लाको सुन्दर ‘हिल स्टेसन’ हो दाम्राङ । जंगलको बिचमा दाम्राङ पोखरी रहेको छ । दाम्राङमा नयाँ वर्षमा ठूलो मेला लाग्छ । चैत वैशाखमा दाम्राङ जाँदा काफल र ऐंसेलु मज्जाले खान पाइन्छ ।

गुरुङ भाषामा ‘र’ को अर्थ पोखरी भन्ने हुन्छ । दामे नामका गोठालो पोखरीमा डुबेर मरेको भन्ने किम्बदन्ती छ । त्यसैले दामेर भन्दै दाम्रा र पछि अपभ्रंस भएर दाम्राङ नाम रहन गएको बताइन्छ । कतिपयले दाम्राङ पोखरीलाई रात पोखरी पनि भन्ने गर्छन् ।

दाम्राङ पोखरी सिमसार क्षेत्र हो, जुन विगतमा मासिएको थियो । दोर्दी गाउँपालिकाले पोखरीलाई चारैतर्फ ढुङ्गाले चिटेर चिटिक्क बनाएको छ । जंगली जनावर र चराचुरुङ्गी अनि भेडिगोठका भेडा पानी पिउन त्यहीँ आउँछन् । पोखरी समुद्र सतहबाट करिब एक हजार नौ सय मिटरको उचाइमा रहेको छ ।

दाम्राङ पुगेर केही समय थकाइ मारेपछी नजिकैको गुफा अवलोकन गर्न सकिन्छ । १० मिनेट हिडेर सात तले गुफा पुग्न सकिन्छ । करिब ८० मिटर लामो गुफाको अर्कोतर्फ निस्कन मिल्छ ।

दोर्दी गाउँपालिकाको वडा नंं ४ मा रहेको दाम्राङको पश्चिमतर्फ थुम्कामा बाइसे चौबिसे राजाका पालाका घले गढी, खुलाल गढी र पाण्डे गढी रहेका छन् । दाम्राङ पोखरीबाट आधा घण्टामा गढी पुगिन्छ । गढीमा पुरानो संरचनाका भग्नावशेष छन् । पुरातत्त्व विभागले चासो दिएर उत्खनन गर्न सके यसको महत्त्व दोर्दी गाउँपालिकाका अध्यक्ष युवरज अधिकारी बताउँछन् ।

त्यस्तै, प्रदेश सरकारकै आर्थिक सहयोगमा प्रदेश सरकार अन्तर्गत डिभिजन वन कार्यालय लमजुङले पोखरी नजिकै दाम्राङ हरित पार्क निर्माण गरेको छ । यस पार्कभित्र ढुङ्गाको सिँढी निर्माण, दुई सय ८५ मिटरको कम्पाउन तारजालीले घेर्ने, विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको थियो ।

यस पोखरी क्षेत्रबाट बौद्ध हिमाल, हर्क पिक, लमजुङ हिमाल, अन्नपूर्ण, माछापुच्छे हिमाल चुली, मनास्लुलगायतको हिमाल देख्न सकिन्छ । पोखरी नजिकै फुटबल मैदान पनि छ ।

यो हिलस्टेसनलाई नेपालकै सुन्दर र शान्त वातावरणमा बस्ने ‘भर्जिन स्टेसन’को रुपमा विकास गर्न सकिन्छ भनेर आफुले सक्दो लगानी र समय यहाँ केन्द्रित गरिरहेको व्यवसायी राजेन्द्र वस्तीले बताए ।

पोखरी नजिकै चार वनभोजस्थलसमेत निर्माण भएका छन् । दम्राङ आसपास घुम्न आउने पर्यटक तथा ट्रेकिङ यात्रीलाई समेत सहज होस् भनेर ४ बाथरुम र चारवटै शौचालयको समेत निर्माण गरिएको छ ।

दाम्राङबाट लिपे हुँदै दुध पोखरी जान सकिन्छ । लिपेबाट नौटाँचे, ओखण्ड हुँदै मेमे पोखरी ट्रेकिङ गर्न सकिन्छ ।

६ चैत्र २०७९