धौलागिरि आइसफल पदमार्गअन्तर्गत कालीबराह ताल अर्को आकर्षण मानिन्छ। वरिपरी हिमाली भू–भागले ढाकिएको कालीबराह ताल समुद्री सतहदेखि चार हजार तीन सय मिटर उचाईमा अवस्थित छ। अधिकांश समय हिउँले ढाकिने यो क्षेत्र बर्खायाममा बुकी फूलले रमणीय देखिन्छ।
आधार शिविर र चिमखोलाको कालीबराह खोलाको दोभानबाट एक दिनको पदयात्रामा पुग्न सकिने कालीबराहमा मुस्ताङको लेतेबाट परम्परागत गोठ र भोट जाने पदमार्ग जोडिएको छ। कालीबराहमा जनैपूर्णिमाको अवसरमा विशेष पूजाआजा हुने गर्छ।
यहाँ भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ। यहाँ ताल परिसरमा बराह थानसमेत छ । कालीबराह नजिकै पहाडको टाकुरामा रहेको पहेँली बराह ताल समुद्री सतहदेखि चार हजार सात मिटर उचाइमा छ।
हिउँदयाममा चिसोले जम्ने यो ताल पर्यटकका लागि उत्कृष्ट गन्तव्यको रुपमा परिचित छ। यस पदमार्गमा निली बराह, कालीबराह, पहेँलीबराह तालसँगै लाटीबराह, सेतीबराह र मनिबराह तालसमेत पदमार्गमा पर्ने स्थानीय कृष्ण पाईजाले जानकारी दिए।
यहाँका ताल तलैयामा हुने पानीको रङ र बराहको नामबाट तालहरुको नामाकरण गरिएको छ । स्थानीयले ताल तलैयामा भारा पूजा गर्ने चलन छ। धौलागिरि आइसफल पदमार्गअन्तर्गत अहिले रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको ससलधारादेखि धौलागिरि हिल भ्यू प्वाइन्ट सम्मको बाटोमा व्यवस्थित पदमार्ग निर्माण भएको छ।
यसबीचमा रहेको कोखेभिर र धौलागिरि भ्यू प्वाइन्टबाट आधार शिविर जाने अक्करे पहाडमा पदमार्ग छिचोल्न बाँकी छ। आधार शिविरबाट पहेँलीबराह, कालीबराह हुँदै लेते जाने परम्परागत गोरटो बाटोमा व्यवस्थित पदमार्ग बन्न नसकेको पाईजाले बताए।
भिरमा पदमार्ग नहुँदा रघुगङ्गा नदीलाई दुई ठाउँ वारपार गर्नुपर्ने र भिरमा डोरीको सहायता लिनुपर्ने बाध्यता छ। यस पदमार्गमा कालीबराह खोला र धौलागिरि भ्यू प्वाइन्ट
हिललगायतका ठाउँमा झोलुङ्गे पुलको अभाव छ। रघुगङ्गा गाउँपालिकाले एक सय २२ किलोमिटर लामो आइसफल पदमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेको छ।
डीपीआर अनुसार पदमार्ग, आश्रयस्थल, झोलुङ्गे पुललगायतका पूर्वाधार निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन गाउँपालिका जुटेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए।
‘आइसफल पदमार्गमा गत वर्षसम्म सङ्घीय सरकारबाट पदमार्ग बनाउने योजना सञ्चालन भएको थियो, तर त्यसलाई पूर्णता दिन हामीले गुरुयोजना बनाएर स्थानीय, प्रदेश र सङ्घीय सरकारको लगानीमा पहल थालेका छौँ’, अध्यक्ष भण्डारीले भने।
धौलागिरि हिमालको आधार शिविर, धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका मनमोहक हिमशृङ्खला, हिम चुचुराबाट हिउँ खसेको दृष्यसँगै ग्लेसियर, रघुगङ्गा नदीको मुहान, सुन छहरा, गुफा, ओढार र अग्ला डाँडाकाँडाको मनोरम दृष्यले यस पदमार्गमा आउने पर्यटकलाई लोभ्याउने गरेको छ। रासस