‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी’, १४ देशका पाहुना दिक्तेलमा


टुरिजम पाना संवाददाता खोटाङ । १८ आश्विन २०८०

खोटाङको दिक्तेलमा बुधबारदेखि ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी’ बुधबारदेखि सुरू भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको आयोजनामा सुरू भएको कार्यक्रम मा नेपालसहित विभिन्न १४ मुलुककका कलाकारहरूको सहभागीता छ । बुधबार अन्तराष्ट्रिय पर्यटकहरूलाई दिक्तेल र आसपासका क्षेत्रबाट हजारौं स्थानीयले स्वागत गरेका थिए ।

खोटाङको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले प्रदर्शनी आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रदर्शनीमा नेपाल सहित अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन, भियतनाम लगायत १४ देशका ४० जना ख्यातीप्राप्त कलाकारहरू सहभागी भएका छन् ।

लाइभ चित्रकला कार्यशाला एबं कला प्रदर्शनी कार्यक्रम अन्तरगत स्वदेश तथा विदेशका कलाकारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत जिल्लाका अन्य महत्वपूर्ण ठाउँको दृश्यलाई क्यानभासमा प्रत्यक्ष उतारिरहेको नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले बताए ।

लाइभ चित्रकला कार्यशाला एबं प्रदर्शनीमा १८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको भट्टराईले जानकारी दिए । उनका अनुसार, यस कार्यक्रमले अन्तराष्ट्रिय स्तरमा दिक्तेलको संस्कृतिहरूको प्रचारप्रसार गर्नमा यस किसिमको कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ ।

यस अवधिमा स्वदेश तथा विदेशका कलाकारले करिब सयको हाराहारीमा क्यानभास पेन्टिङ तयार पार्नेछन् ।

कलाकारले उतारेका क्यानभास पेन्टिङलाई राखेर असोज २० गते दिक्तेलमा चित्रकला प्रदर्शनी सहित स्थानीय परिकारको स्टल, साँस्कृतिक झाँकी, नृत्य प्रदर्शन गर्ने तयारी गरिएको छ । कलाकारले क्यानभासमा उतारेका लाइभ चित्रकलालाई केही महिनापछि काठमाडौंको आर्ट ग्यालरीमा राखेर प्रदर्शनी गरिने सूचना अधिकारी भट्टराईले जानकारी दिए ।

खोटाङको कला, संस्कृति र पर्यटनको प्रवद्र्धनका लागि १० वटै स्थानीय तहमा भएका पाखा, पखेरा, जंगल, खोल्साखाल्सी, खोँच, लेकबेँसीका साथै प्राकृतिक, साँस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको सुन्दर पक्षहरुको प्रचारका लागि लाइभ चित्रकला तथा प्रदर्शनी आयोजना गरिएको हो ।

लाइभ चित्रकला कार्यशाला तथा प्रदर्शनीले खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन र ती स्थानको महत्व, संस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा टेवा पुर्‍याउने आयोजकको विश्वास छ ।

चित्रकला कार्यशाला एबं प्रदर्शनीका अवधिमा तयार पारिएका यी क्यानभासलाई संग्रहालय बनाएर राखिने सूचना अधिकारी भट्टराईले जानकारी दिए । कार्यक्रम असोज २१ गतेसम्म सञ्चालन हुनेछ ।

१८ आश्विन २०८०