चितवन माडीमा होमस्टे महासंघको चौथो राष्ट्रिय महाधिवेशन हुने


टुरिजम पाना संवाददाता चितवन । १७ आश्विन २०८०

देशभरका सामुदायिक तथा निजी होमस्टे (घरवास)हरूको साझा संगठन होमस्टे महासंघको चौंथो राष्ट्रिय महाधिवेशनमा चितवनको माडीमा हुने भएको छ ।

६ वटा समुदायिक तथा निजी होमस्टे रहेको माडीमा यही असोजको २५ देखि २७ गतेसम्म राष्ट्रिय महाधिवेशन हुने महासंघका अध्यक्ष प्रेमशंकर मर्दनियाले जानकारी दिए । उनका अनुसार महाधिवेशनको तयारी तीब्र गतिमा भइरहेको छ ।

देशभरबाट होमस्टे सञ्चालकहरु माडीमा भेला हुने भएकोले त्यसका लागि व्यवस्थापनको काम अगाडि बढेको अध्यक्ष मर्दनियाले जानकारी दिए । महाधिवेशनमा देशभरका १५ सयभन्दा बढि गाउँका होमस्टेबाट ५ बरावर १ जनाको दरले सहभागी हुनेछन् । माडीमा विभिन्न जातजातीका सामुदायिक होमस्टे छन् । आउने प्रतिनिधीहरुलाई ति होमस्टेमा राखिने अध्यक्ष मर्दनियाले बताए ।

उनका अनुसार महाधिवेशनमा देशभरबाट ६ सय जना प्रतिनिधी असोज २५ गते नै माडी आइपुग्नेछन् । त्यस दिनमा इन्ट्री गराएर होमस्टेमा राख्ने र २६ गते माडीको वसन्तपुरमा भब्य उद्घाटन कार्यक्रम गरिने अध्यक्ष मर्दिनियाले बताए ।

उद्घाटन सत्रमा विभिन्न जातजाती,समुदाय र भौगोलिक क्षेत्रको विषेशता झल्काउने विविध सांस्कृतिक कार्यक्रम र झाँकीहरु प्रर्दशन गरिने छ । महाधिवेशनले चार बर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।

महाधिवेशनमा आउने प्रतिनिधीहरुलाई माडीका विभिन्न प्राकृतिक तथा पर्यटकीय ठाउँहरुका साथैं, चितवन राष्ट्रिय निकुञ्ज घुमाउने कार्यक्रम राखिएका छन् । यसले माडीको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास माडी नगरपालिकाले लिएको छ । माडी नगरपालिकाले समेत यसमा सहयोग गर्ने जनाइएको छ ।

१७ आश्विन २०८०