विश्व सम्पदा क्षेत्रभित्रको जीर्ण प्रहरी भवन भत्काइने, काठमाडौं महानगर र प्रहरीबीच सहमति


हनुमानढोका दरबार परिसरमा रहेको काठमाडौं जिल्ला प्रहरी कार्यालयको जीर्ण भवन अन्ततः भत्काइने भएको छ। काठमाडौं महानगरपालिका र नेपाल प्रहरीबीच ट्राफिक प्रहरी कार्यालय रामशाहपथको जग्गा साटासाट गर्ने सहमति भएपछि भवन भत्काउने निर्णय गरिएको हो।

सो भवन विश्व सम्पदा क्षेत्रको मापदण्डविपरीत निर्माण भएको, भूकम्पले क्षतिग्रस्त बनेको र दरबार क्षेत्रको सौन्दर्यमा बाधक बनेको भन्दै सम्पदा अभियन्ता यादवलाल कायस्थ लगायतले निरन्तर दबाब दिँदै आएका थिए। पुरातत्व विभाग, संस्कृति मन्त्रालय, र गृह मन्त्रालयको समन्वयपछि भवन भत्काउने निर्णयमा पुगिएको हो।

भवन भत्काइएपछि उक्त स्थानमा पोखरी, हरियाली क्षेत्र र पर्यटन प्रहरी कार्यालय बनाउने योजना रहेको छ। ट्राफिक प्रहरीको कार्यालय भने रामशाहपथबाट सामाखुसीस्थित कोरियन सरकारले बनाएको भवनमा सारिनेछ।

हनुमानढोका परिसरभित्र करिब ३ रोपनीमा फैलिएको सो परिसरमा पाँचवटा जीर्ण संरचना छन्, जसमा भूकम्पपछिका क्षतिहरू अझै बाँकी छन्। नयाँ सहमतिले विश्व सम्पदा क्षेत्रको संरक्षणमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

२२ श्रावण २०८२