नुवाकोट दरबार अवलोकनसँगै जीपलाइनको मज्जा


टुरिजम पाना नुवाकोट । १२ माघ २०७९

राजधानी काठमाडौंबाट नजिकैको गन्तब्य बनेको छ नुवाकोट दरबार । दरबार नजिकै रहेको जीपलाइनले पर्यटकको घुमफिरलाई थप रोमाञ्चक बनाएको छ । नुवाकोटको बिदुर नगरपालिका वडा न २ नुवाकोट दरबार क्षेत्रमा रहेको जीपलाइन दरबार घुम्न पुगेका पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ ।

दरबार एडभेञ्चर प्रा.लि.ले सञ्चालन गरेको जीपलाइनको लम्बाई १३ सय मिटरको छ भने उक्त दुरी पार गर्नका लागि कम्तीमा ९० देखि वढीमा १ सय २० सेकेण्ड सम्म लाग्ने छ । कोरोना महामारी अगाडी नै जीपलाइनलाई सञ्चालन गरिएको भएपनि कोरोनाका कारण गरिएको लकडाउनले असर गर्‍यो । अहिले बिस्तारै पर्यटकहरु संख्या विस्तारै वढ्दै गएको कम्पनीको भनाइ छ ।

जीपलाइनमा १० प्रतिशत सेयर स्थानीयको रहेको छ भने बाँकी सेयरमा १२ जनाले संयुक्त लगानी गरेका छन् । शान्त, मनोरम तथा पारिवारिक बातावरण र ऐतिहासिक साततले दरबारको अवलोकन गर्दै जीपलाइन खेल्दा पर्यटकहरु रमाउने गरेको लगानीकर्ता मध्येकी एक दरबार एडभेञ्चर प्रा.लि.की म्यानेजर गोमा गुरुङले बताईन् ।

आन्तरिक पर्यटनको लागि दरबार क्षेत्रमा आउनेहरुको लागि राम्रो सेवा र एड्भेञ्चर मनपराउनेको लागि उत्कृट गन्तव्य बनाउन प्रयास आफूहरुले गरिरहेको गुरुङको भनाइ छ ।

जीपलाइनका साथै प्रा.लि.ले एड्भेञ्चर पिङ, स्वीमिङ पुल, आकर्षक सुविधा सहितको १० रुम सहितको रिसोर्ट समेत सञ्चालन गरेको छ । कम्पनीका अनुसार कतिपय संरचना अझै पनि निर्माणाधिन रहेका छन् । प्राकृतिक सौन्दर्यमा रमाउदै हाईकिङ गर्न मिल्ने बाताबरण समेत रहेको पर्यटक थप आकर्षित हुने गरेका छन् ।

हाल क्लासिक र टेण्डम जीपलाइन जीपलाइन सञ्चालन गरिरहेको कम्पनीले क्लासिकको प्रतिव्यक्ति २५ सय  र टेण्डमको ४५ सय तोकेको छ । नाइट स्टे का लागि यहाँ बस्ने र खानेको राम्रो प्रबन्ध छ । नाइट स्टे गर्न चाहनेहरुका लागि प्रतिव्यक्ति २५ सयमा प्याकेज उपलब्ध गराउँदै आएको छ ।

यसमा बेलुकाको खाना, ब्रेक फास्ट समावेश गरिएको हो । यसका अलवा विभिन्न समयमा पर्यटकहरुका लागि कम्पनीले आकर्षक प्याकेजहरुको व्यवस्था गर्दै आएको छ ।

कसरी पुग्ने ?

आफ्नै सवारी, साधन बाईक वा गाडी हुनेहरुका लागि काठमाडौंबाट टोखा हुँदै नुवाकोटको दरबार जीपलाइन पुग्न सकिन्छ । यसरी जीपलाइन पुग्नका लागि ६५ कि.मी को यात्रा गर्नुपर्ने छ । यस्तै काठमाडौंबाट गल्छी हुँदै पनि दरबार जीपलाइन पुग्न सकिन्छ ।

१२ माघ २०७९