पाँच वर्षदेखि प्रयोगविहीन अवस्थामा लुम्बिनीमा थन्किएका एशियाली विकास बैंक (एडीबी)को अनुदानमा ल्याइएका विद्युतीय बसहरू प्रधानमन्त्री कार्यालयको निर्देशनपछि सञ्चालनमा आएका छन्।
यसअघि बस सञ्चालनमा विभिन्न कानुनी र प्रशासनिक जटिलता देखाउँदै लुम्बिनी विकास कोषले गाडी चलाउन सकेको थिएन। बसहरू काठमाडौं लैजाने तयारी भइरहेको जानकारी पाएपछि प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले लुम्बिनीमै तत्काल सञ्चालन गर्न निर्देशन दिएको थियो।
निर्देशनपछि बुधबारदेखि दुईवटा बस सञ्चालनमा आएका छन्। एउटा बस लुम्बिनी एयरपोर्ट–बेलहिया र अर्को लुम्बिनी–तिलौराकोट–कुदान रुटमा चल्नेछ। बाँकी तीन बस मर्मतपछि रामग्राम, देवदह र बुटवलसम्म सञ्चालन गर्ने तयारी छ।
१३ करोड रुपैयाँ लागतमा ‘क्लीन इनर्जी प्रोजेक्ट’ अन्तर्गत ल्याइएका यी बसका लागि १३ करोड ९० लाख रुपैयाँमा चार्जिङ स्टेशन पनि निर्माण भइसकेका छन्। १७ स्थानमा चार्जिङ सुविधा उपलब्ध छ।
लुम्बिनी विकास कोषका अनुसार दीर्घकालीन सञ्चालनका लागि व्यवस्थापन मोडेल आवश्यक भए पनि हालका लागि सेवा सुरु गरिएको हो।








