नेपालको उड्डयन सुरक्षाबारे मूल्याङ्कन गर्न इयूको टोली तत्काल नेपाल नआउने


टुरिजम पाना काठमाडौ । ७ माघ २०७९

नेपालको उड्डयन सुरक्षाबारे ‘अनसाइट मूल्याङ्कन’ गर्न नेपाल आउने योजनामा रहेको युरोपेली सङ्घ (इयू) को टोलीको कार्यक्रम तत्कालका लागि स्थगित भएको छ । इयूको नेपाल भ्रमण तत्कालका लागि स्थगित भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपालका लागि इयूका राजदूत नोना डेप्रेजले आज संयुक्त विज्ञप्ति जारी गर्दै इयूको अनसाइट मूल्याङ्कन तत्कालका लागि रोकिएको जनाएको हो ।

क्यानका प्रवक्ता जगन्नाथ निरौलाकाअनुसार यती एयरलाइन्सको यही माग १ गते पोखरामा भएको दुर्घटना जाँच आयोगको काममा प्राधिकरणको जनशक्ति खटिनुपर्ने भएकाले आपसी सहमतिमा तत्कालका लागि इयूको नेपाल भ्रमण स्थगित भएको हो ।

यसअघि गत अक्टोबारमा इयूको एक टोलीले नेपालको उड्डयन सुरक्षाबारे अध्ययन गर्दै उडान सुरक्षामा उल्लेख्य प्रगति भएको निष्कर्ष निकालेको थियो । छुट्टै टोलीलाई स्थलगतरुपमै खटाएर अध्ययन गराउने निर्णयका साथ उक्त टोली फर्किएको थियो । उड्डयन सुरक्षका लागि इयूले नेपाललाई निरन्तर सहयोग जारी राख्ने विज्ञप्तिमा उल्लेख छ ।

सन् २०१३ देखि इयूले नेपाललाई सुरक्षासूचीमा राखेको छ । उक्त सूचीबाट हटाउन नेपालले विभिन्न प्रयास गर्दै आएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले हालै गरेको अडिटमा नेपालको हवाई सुरक्षा परिपालनादर ७० दशमलव एक प्रतिशत रहेको छ ।

७ माघ २०७९