एक साता लामो ट्रेक र एभरेष्ट बेस क्याम्पसँगको मिलाप


अप्सरा तिमिल्सिना काठमाडौं । १२ श्रावण २०८१

एभरेष्ट बेस क्याम्प !

नाम सुन्दैमा त्यहाँ पुग्नका लागि आत्तुर बनिदिन्छ मन ।

त्यसै त्यसै त्यहाँ कस्तो होला ? यही प्रश्नले झनै झकझकाइरहने । चञ्चल बनाइरहने ।

दशैं नजिकिँदै थियो । त्यसभन्दा पनि विशेष बिहे गरेको केही महिनामात्रै भएको थियो । श्रीमान र म घुम्न जाने योजना बनायौं । हाम्रो लागि यो ट्रेक हनिमुन ट्रेक नै थियो । जसमा हामीलाई अन्य ५ जनाले साथ दिँदै हुनुहुन्थ्यो ।

एभरेष्ट बेसक्याम्प (एभरेष्ट बेस क्याम्प) नाम धेरै सुनेर पनि मेरो लागि जान नपाइरहेको ठाउँ । हस्पिटालिटी क्षेत्रमै भएर पनि म त्यहाँ जान पाएकी थिइन । सबैले एभरेष्ट बेस क्याम्प जाने कुरामा सहमति भयो ।

अब हामी जानका लागि आवश्यक सरसामानको जोहो गर्नतिर लाग्यौं । मलाई याद छ, हामीले सामान जोहो गर्दै गर्दा एभरेष्ट बेस क्याम्पका लागि आएको उत्साह । साँच्चै मन फुरुङ्ग भइरहेको थियो, कस्तो हो ? कहिले पुगिएला ? कस्ता फोटो खिच्ने होला ? कत्तिको गाह्रो होला ? साँच्चै हामी पुग्छौं त ?  यी र यस्तै प्रश्नले मनलाई कौतुहल बनाइरहेको थियो ।

दशैंको चहलपहल सुरू हुँदै थियो । प्राय: हवाई उडानहरू खचाखच हुँदै थिए । भाडादर पनि सोही हिसाबले बढ्दो थियो । हामीले हवाई उडानबारे बुझ्यौं ।

काठमाडौंबाट लुक्लाको सिधा उडान हुने रहेनछ । हामी घटस्थापनाको दिन रामेछाप गयौं । मन्थली विमानस्थलबाट लुक्ला उडान हुने भएकाले हामीले हाम्रो एभरेष्ट बेस क्याम्पतर्फको यात्रा रामेछापतर्फ लागेर सुरू गर्‍यौं ।

रामेछाप मेरो पुर्ख्यौली घर भएको ठाउँ हो । म मन्थली पहिले पनि पुगेको थिएँ । त्यसैले उत्साहित थिएँ । उसो त एभरेष्ट बेस क्याम्पतर्फको औपचारिक यात्राका लागि मन्थली पुग्दा हामी सातै जना उत्ति नै उत्साहित थियौं ।

मन्थलीको एक होटलमा हामीले खाना खायौं । खाना मिठो थियो । तर मैले सायद पहिलो पटक हुनुपर्छ नेपाली र विदेशीबीचको डरलाग्दो विभेद मन्थलीमा देखें । मन्थलीमा स्थानीयले नेपालीलाई भन्दा पनि विदेशी पाहुनालाई बढी प्राथमिकता दिने रहेछन् ।

यसको कारण कमजोर नेपाली रुपैयाँ र बलियो अमेरिकी डलर नै हो । तै पनि नेपालको हस्पिटालिटी क्षेत्रभित्रै बसेर मैले केही वर्ष काम गर्दासम्म पनि नदेखेको यस किसिमको विभेदले मलाई उकुसमुकुस गराइरह्यो ।

000

मन्थली पुग्दा साँझको ८ बजिसकेको थियो । हामीले मन्थली बजारमा केही बेर घुम्यौं ।  एभरेष्ट बेस क्याम्प ट्रेकका लागि हामीबाहेक नेपालीहरू देखिएको थिएन । ट्राभल एजेन्टका कर्मचारीबाहेक बाँकी सबै विदेशी पर्यटकहरू थिए ।

भोलिपल्ट बिहानै हामी मन्थली विमानस्थल पुग्यौं । विमानस्थलमा हामी पुग्दा करिब ५ सय भन्दा बढी नागरिक पुगिसकेका थिए । मौसमले साथ नदिँदा केही दिनदेखिको उडान रोकिएको रहेछ । टिकेट अनुसार हाम्रो उडान बिहान ९ बजे हुँदै थियो । तर हामी सो समयमा उड्न पाएनौं ।

दुई दिनदेखि कुरिरहेका विदेशी नागरिकलाई पहिले उडाएपछि मात्रै नेपालीको पालो आउने अवस्था रहेछ । हाम्रो पालो आउने वा नआउने कुनै टुंगो भएन ।

हामी सिता एयरबाट लुक्लाका लागि टिकेट लिएका थियौं । सिता एयरका कर्मचारीले पनि उडान तालिकाबारे केही भन्न सकिरहेका थिएनन् ।

चर्को घाम थियो । हामी दिनभर खानापानी केही पनि नखाई विमानस्थलमै रह्यौं । कुन बेला उडान हुने भन्ने निश्चित नहुँदा हामीलाई निकै गाह्रो भइरहेको थियो । अति नै भएपछि दिउँसो २ बजे आसपास मैले सिता एयरलाई गएर  उडान हुन्छ कि हुँदैन भनेर सोधें । उनीहरूले निश्चित छैन भन्ने जवाफ दिए । एकछिनपछि बोर्डिङ पास दिने मेसिन नै बिग्रिएको खबर आयो । त्यसपछि मात्रै अब आज उडान गर्न नसकिने भन्ने जवाफ आयो  । अव्यवस्थित र भद्रगोल उडान सेवाको मारमा हामी परिरह्यौं । त्यहाँ विशेषगरी हामी नै बढी मारमा थियौं । किनकी हामी नेपाली थियौं ।

एयरलायन्स कम्पनीहरूले टिकेट चाहीँ बेचिरहे । तर उडान भने गराउन सकेनन् । केहीबेरमा हामी खाना खानका लागि गयौं । होटलमा कोक खाए पनि विदेशीलाई जसरी नै डलरमा पैसा लिइरहेका थिए । सोहीबेला एक जना चिनजानकै दाइ भेटिनुभयो । उहाँले नेपाली रेट लगाइदिनु भनेपछि मात्रै हामीले होटलमा सामान्य मूल्यमा खान पायौं ।

हामी खाना खाँदै थियौं, प्लेन उडेको आवाज आयो । त्यसपछि खाँदै गरेको खाना छाडेर हामी विमानस्थलतर्फ लाग्यौं । त्यहाँ त अहिले विदेशी उडेको अब तपाईहरू भोलिमात्रै आउनु भनियो । बिहानदेखि विमानस्थलमै रहेको हामीलाई साढे चार बजेपछि मात्रै भोलि मात्रै उडान हुने जानकारी दिए ।

त्यहाँ विदेशी उडेको जहाजमा बिचबिचमा यात्रु राखिने रहेछ । केही दलालहरू यसमा सक्रिय हुने रहेछन् । फ्लाइट कनेक्टिङ भन्ने कोड प्रयोग गरेर फोनमा बोलेमा बढी पैसा तिरेर पनि जान सकिने रहेछ । मैले एक पटक फोन कल पनि गरें । तर उठेन । उत्साहका साथ रामेछाप पुगेका हामी निराश हुँदै राति होटलमै बस्यौं ।

भोलिबिहान सात बजे जहाज उड्छ भनेर सिता एयरले जानकारी दिएको थियो । सोही अनुरुप भोलिपल्ट बिहानै हामी पुगिसकेका थियौं । विमानस्थलबाट कर्मचारीले कतिजना भनेर सोधे । मैले हामी सात जना छौं भन्ने जवाफ दिएँ । त्यतिखेर ती कर्मचारी छक्क परेर भने, सातै जना नेपाली ? सातै जनालाई कसरी टिकेट दिएछ ? ती व्यक्तिको कुराले मलाई निकै रिस उठ्यो । एकछिन त्यहाँ डिस्कस समेत भयो हाम्रो । एउटै फ्लाइटमा सबैलाई उडाउन नमिल्ने तर विदेशी उडेकोमा बिचबिचमा राख्न सकिने ती कर्मचारीले बताए । जसअनुसार विदेशी उडिसके । हामीले उड्न पाएनौं । नेपाली भएकै कारणले नेपालको विमानस्थलमा उडाउन पालो पाइएन ।

केही समयपछि दुई जनाको बोर्डिङ पास मात्रै दियो । हामी श्रीमान र श्रीमती सँगै जाने योजनामा थियौं । तर उनीहरूले टिकट छुट्टाइदिएछन् । मलाई झोक चल्यो । मैले त्यहाँ डिस्कस गरें । त्यसपछि उनीहरूले हामीलाई छुट्टाएनन् । हामी सँगै जाने भयौं । तर साथीहरू फेरि पर्खनुपर्ने भयो ।

हामी चेकिङका लागि अगाडि बढ्यौं । अब त पालो आउँछ भन्ने सोच्दै थियौं, जहाज बिग्रिएको खबर आयो । हामी भित्र बसिरहनुको विकल्प भएन । केही बेरको प्रतीक्षापछ प्लेन आयो । हामी प्लेनमा बस्यौं । जसोतसो लुक्ला पुग्दै थियौं । ल्याण्ड गर्ने बेला निकै डर लागिरहेको थियो मलाई । जब पाङ्ग्राले जमिन छोयो मलाई भुकम्प आए जस्तो भयो ।

हामी सकुशल लुक्ला पुग्यौं । तर हाम्रा साथीहरू रामेछापमै रोकिएका थिए । उनीहरूलाई फोन गरें । तर पास नै नपाएको साथीहरूले बताए । छटपटाहटमै त्यस दिन बित्दै गयो । दिउँसो तीन बजेतिर दुई जनाले पालो पाए र लुक्ला आइपुगे । बाँकी तीन जना पालो कुर्दै रामेछापमै रहे । केही समयपछि हामी सातै जना लुक्लामा भेटियौं ।

लुक्लामा थकान मेटाउने फुर्सद समेत हामीलाई थिएन । किनकी हामीलाई फाग्दिङ सोही दिन पुग्नुथियो । हामी बिस्तारै बिस्तारै रमाइलो गर्दै फाग्दिङतर्फ जाँदै थियौं । झमक्कै रात परिसकेको थियो । साढे सात बजेतिर, अँध्यारो बढ्दै थियो । हाम्रै समूहका एक जना भाइ यात्राकै क्रममा भीरबाट खसे ।

टेकेको ठाउँ चिप्लिएर उनी अनकन्टार भीरबाट खसे । यो अवस्था निकै डरलाग्दो थियो । मलाई सम्झँदा अहिले पनि शरीर काँप्छ । तल दूधकोशी सुसाएको बाहेक अरू आवाज आएको छैन । अवस्था यस्तो थियो कि हामीले बोलाउँदा उसले सुनिरहेको थिएन । त्यो अँध्यारो रातमा हामीले कसरी उसलाई निकाल्ने ?  निकै मेहनतपछि उसलाई माथि ल्याउन सक्यौं । बाटोमै, चिसो भुईंमा भाइलाई सुताएर प्राथमिक उपचार गर्यौं । हाम्रै टिममा डा. अञ्जल हुनुहुन्थ्यो । त्यसकारण पनि हामीलाई उपचारका लागि केही सहज भयो । उसको गोडामा चोट लाग्यो । ब्याण्डेज गर्दा पनि भाइ हिँड्न सक्ने अवस्था रहेन ।

केही बेर हिँडेपछि उसलाई झनै गाह्रो भयो । त्यसपछि हामीसँगै जानुभएका पोर्टर (भरिया) भाइले उसलाई केही समय बोकेरै जानुभयो ।

हामी त्यसदिन फाग्दिङ पुग्न सकेनौं । जसोतसो गरेर नजिकैको ठाडे ढुंगा  गाउँमा पुग्यौं र होटल माउन्ट कुसुम पुग्यौं र बास माग्यौं । सो होटलमा विदेशी तीन जना र हामी सात जनामात्रै थियौं । विदेशीहरूको सो समूहमा अमेरिकाका डाक्टर पनि रहेछन् । उहाँले पनि भाइको उपचारमा केही सहजीकरण गर्नुभयो ।

भाइलाई भोलि जसरी पनि काठमाडौं पुर्‍याउनुपर्ने थियो । त्यसका लागि घोडालाई बोलायौं । भोलिपल्ट बिहानै घोडामा राखेर भाइलाई एयरपोर्ट पुर्‍यायौं । त्यसपछि मैले समिट एयरका पाइलट समेत रहेका मेरो साथी अभिनन्दनलाई टिकट बुझिदिन आग्रह गरें । समिट एयरको स्टेशन म्यानेजर काजी दाइको नम्बर उसले मलाई दियो । समिटले १ बजे पछि मात्रै काठमाडौंको जहाजमा भाइलाई ल्यायो ।

अघिल्लो दिन फाग्दिङ पुग्न नसकेकाले हामी दवावमा थियौं । भाइलाई काठमाडौं फर्काएपछि हामी त्यस दिन नाम्चे पुग्ने गरी हिड्ने टार्गेट राख्यौं । त्यसदिन मन्जोमा खाना खायौं । त्यहाँ हरियाली डाँडाकाडा देखिएको थियो । तर हामी रमाउनै सकेनौं । भाइको दुर्घटनाका कारण हामीलाई निकै तनाव भइरहेको थियो । हिजोको डरले छेउबाट हिँड्न सकिरहेका थिएनौं । फेरि पानी पनि परिरहेकाले यात्राका लागि गाह्रो भइरहेको थियो ।

नाम्चेको उकालो हिँड्नु अघि हामी रेस्ट गर्दै थियौं । त्यहाँ विदेशीहरू निकै नै थिए । नेपाली कोही पनि थिएनन् । त्यहाँ पुगेका मध्ये धेरै भारतीय पर्यटकले भने हिँड्न नसकेर घोडामा जाने रहेछन् ।

त्यसपछि नाम्चेतर्फ लाग्यौं । अन्त त हामीले जसोतसो हिँड्न सकेका हामीलाई नाम्चेको उकालो निकै कष्टकर भयो । उसो त नाम्चेको उकालो भनेपछि मान्छेलाई ज्वरो आउँछ भन्ने सुनिएको थियो । त्यस्तै भयो ।

हामीले बल्लबल्ल ६ घन्टा लगाएर नाम्चेको उकालो छिचोल्यौं । १० घण्टाभन्दा बढी हिँडेर हामी त्यहाँ पुग्दा अँध्यारो भइसकेको थियो । तर अरु केही नदेखिएपनि पारीबाट मुस्कुराउँदै हिमालले हामीलाई स्वागत गर्‍यो । हिड्दा थकित भएका हामी उकालो सकिने बित्तिक्कै देखिएको हिमालले हामीलाई चंगा बनाइदियो ।

नाम्चेको उकालो पार गर्दा हिलारी ब्रीज समेत हामीले नजिकबाट देख्यौं । हामीले स्कुले जीवनमा पुस्तकमा पढेको हिलारी ब्रिज नजिकै देख्न पाउँदा म खुशीले गद्गद् भएँ । त्यहाँको डाँडाकाँडा र हिमालहरूलाई नियाल्दै फोटो खिच्दै हामीले उकालो पार गरेका थियौं ।

तर कहिलेकाहीँ बाटो देख्दा निकै गाह्रो हुन्थ्यो । डाँडाडाकाँडा नै त काठमाडौंमै थियो । यहाँ किन आएको भन्ने समेत मनमा लागिरहेको थियो ।

हामीले पहिले नै बुकिङ गरेको होटल हामीलाई खोज्नुथियो । तर खुट्टा दुखेर घिस्रिएर हिँड्न परेको थियो । बल्लतल्ल होटल पुग्यौं । तर होटलमा हाम्रो बुकिङ क्यान्सेल गरेको जानकारी आयो ।

हामी अब होटलमा बसेर थकाइ मेट्नुपर्छ भन्ने हिसाबले पुगेका थियौं । तर विदेशी नागरिकका लागि भनेर हामीले अगाडि नै बुकिङ गरिसकेको रूम दिइसकेका रहेछन् । डलर नै पाउने भएपछि यहाँ पनि नेपालीको खासै ‘भ्याल्यु’ नहुने रहेछ ।

उनीहरूले हामीलाई चिया खुवाए । त्यसपछि नजिकैको एउटा गेष्ट हाउसमा रुम मिलाइदिए । बुकिङ फाइभ स्टारमा गरेपनि  बस्नचाहिँ गेष्ट हाउसमा बाध्य भयौं । त्यसैकारण पनि हामीलाई निकै फरक महसुस भइरहेको थियो । त्यहाँ तेस्रो तलामा हामीले रुम पायौं । हामीले खाना खाँदा पनि विभेद महशुस गर्‍यौं । विदेशीलाई टेबल सेटअप गज्जबको थियो । जेजे आवश्यक हुन्छ सबै छ तर नेपालीलाई भने त्यस्तो केही पनि नहुने रहेछ । हामी बसेको टेबलमा टेबलबाहेक केही छैन । हामीले खाना मगायौं । तर निल्नै नसक्ने खाना थियो । खाना नखाएर हामी आफैंले बोकेको ड्राइ फुड खायौं र रात कटायौं ।

त्यहाँ मोबाइल चार्ज गरेको घण्टाको ५ सय रुपैयाँ लिइने रहेछ । इन्टनेट पनि निकै महँगो थियो । एउटा मात्रै मोबाइलका लागि ५ सय रुपैयाँ तिरेर इन्टरनेट चलाउनुपर्ने रहेछ । सबैले नेट चलाउन खोज्दा त निकै खर्चिलो हुने देखियो ।

भोलिपल्ट त्यहाँबाट निस्केर सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै हामी खुन्देतर्फ अगाडि बढिरह्यौं । जति अगाडि बढ्यो हिमाल त्यति नजिक रहेको भान हुन्थ्यो । यस्तो लाग्थ्यो कि हिमाल यहीँ छ ।

एभरेष्ट भ्यु होटल पुग्ने बेलाको उकालो निकै गाह्रो रहेछ । सो होटलबाट भ्यु हेर्नका लागि मौसम नखुलेको हामीले सुन्यौं । त्यसपछि त्यसतर्फ नगई हामी खुन्देतर्फ लाग्यौं ।

बल्लतल्ल उकालो कटेपछि खच्चड हिँडेको, चौरी चरेको लगायतका दृश्य देखिन थाल्यो । यसपछि मात्रै मलाई ट्रेकिङको फिल आइरहेको थियो ।

नाम्चेबाट करिब ६ घण्टा हिँडेर हामी खुन्दे गाउँ पुग्यौं ।

चारै तिर हिमालले घेरिएको उपत्यका जस्तै रहेछ खुन्दे गाउँ । हिमालै हिमालको बिचमा रहेको यस गाउँले मलाई निकै रोमाञ्चक बनाइदियो । त्यहाँ पुग्दासम्मको सबै थकान भुलें । निकै शान्त थियो गाउँ । केवल हाम्रै प्रतीक्षा गरिरहेझैं लाग्थ्यो । हुन पनि सो गाउँमा सायद हामी मात्रै थियौँ पाहुना ।

सबै घरका छानामा हरियो जस्ता लगाइएको र पहाडको बीचमा रहेको यस गाउँ साँच्चै नमूना गाउँ रहेछ । गाउँको माथि आमादब्लम् हिमालले गाउँलाई झनै आकर्षक बनाइदिएको छ ।

भोलिपल्ट खुन्देबाट तेङ्बोचे पुग्नुथियो । बिहानै ब्रेकफास्टको रुपमा रारा चाउचाउ खायौं । त्यसपछि यात्रा सुरू गर्‍यौं । हामी निकै माथि थियौं । त्यहाँबाट ओरालो त्यसपछि फेरि उकालो चढ्नुपर्ने रहेछ तेङ्बोचे पुग्न । हिँड्दा एकातिर गर्मी भइरहेको थियो भने अर्कोतिर हावा निकै चलिरहेकाले गाह्रो भइरहेको थियो । फेरि हामी नेपाली । नेपालीलाई ओरालो झर्न सहज हुने रहेछ, हामी सहजै झर्‍यौं । तर विदेशीहरूलाई भने उकालो सहज  भएपनि ‌ओरालो गाह्रो लाग्ने रहेछ ।

हामी करिब ७ घण्टाको निरन्तरको यात्रापछि तेङ्बोचे पुग्यौं । तेङ्बोचे पुगेपछि मैले निकै नजिकबाट सगरमाथा देखेको महशुस गरें । यस्तो लाग्थ्यो कि हामीसँग अंकमाल गर्न सगरमाथा स्वयम् आत्तुर छ । उसले अंगालो फिँजाएर हामीलाई पर्खिरहेको छ ।

सगरमाथा निकै मज्जाले देखिने रहेछ यहाँबाट । साथै विश्वकै सबैभन्दा अग्लो उचाइमा रहेको गुम्बा ‘तेङ्बोचे मोनास्ट्री’  पनि यहीँ रहेछ । हामीले नजिकबाट गुम्बाको अवलोकन पनि गर्‍यौं । गुम्बामा हामीले झण्डै डेढ घण्टा मेडिटेसन गर्‍यौं । तत्पश्चात मलाई ६ दिनसम्मको तनाव र  थकानलाई यहीँ बिसाएजस्तो भयो । निकै चंगा भएर हामीले सो गुम्बाको अवलोकन गर्‍यौं ।

तेङ्बोचे ठाउँ अन्य ठाउँको तुलनामा सहज र राम्रो लाग्यो । हामी एउटा होटलमा बस्यौं । जुन अघिल्ला होटलहरूको तुलनामा सुविधासम्पन्न थियो । हामीले यात्रा अवधिभर मोबाइल र अन्य डिभाइसहरू चार्ज गर्न पाएका थिएनौं ।  प्रत्येक रुममा चार्जिङ पोइन्ट राखेकाले यहाँ मज्जाले डिभाइसहरू चार्ज गर्‍यौं ।

अन्य होटलको तुलनामा यहाँ नेपाली र विदेशीबीच विभेद हुने रहेनछ । तर खाना भने विदेशीकै स्वादमा बनाइने । हामीलाई खाना खान निकै गाह्रो भयो । खानै सकेनौं । त्यस रात होटलमा हामीले तास खेलेर इन्जोय गर्‍यौं । हामीसँग रमाउन र गफिनका लागि विदेशीहरू पनि निकै आकर्शित थिए ।

मैले त्यहाँ  होटलका कर्मचारीहरूसँग कुरा पनि गरें । उनीहरू सिजनल ब्यापारका लागि त्यहाँ पुग्ने रहेछन् । तीन महिना काम गरेपछि बाँकी समय काठमाडौंमा बस्ने रहेछन् ।  होटलमा एक बोतल एक बोतल पानी भरेको तीन सय रुपैयाँ लाग्ने रहेछ ।

तेङ्बोचेबाट अर्कोदिन हामीलाई दिङ्बोचे जानु थियो । भोलिपल्ट बिहानै हामी त्यसतर्फ लाग्यौं ।  निकै उकालो यात्राले हामीलाई थकित बनाउँदै लगेको थियो । तर पनि हामीमा एक किसिमको उर्जा आइरहेको थियो । यात्राका क्रममा सो बाटोबाट आमादब्लम हिमाल निकै नजिक देखियो । आकर्षक आमादब्लमले हाम्रो थकान केही समयका लागि भए पनि भुलाइदियो । माथि पुगेपछि त हामीले यो हिमालको आकार नै निकै फरक देख्यौं । पुस्तकमा हेर्दै आइरहेको आमादब्लम हिमालको फोटो र साँच्चैको आमादब्लुम हिमाल निकै फरक लाग्यो ।

हामी आमादब्लमलाई नियाल्दै दिङ्बोचे पुग्यौं । त्यहाँसम्म जान कतिपय बाटो निकै सिधा थियो तर पनि हावा वेगले चलेका कारण हिड्नै सकेनौं ।

हामीलाई चाँडो पुग्नुपर्ने थियो । तर हावा धेरै चल्ने भएर हामीलाई हिँड्नै गाह्रो भयो । हावा धेरै चल्ने भएर दिउँसो २ बजेपछि त्यो बाटो नहिँड्न सुझाइने रहेछ । तर हामी जबरजस्ती हिँड्यौं, किनकी हामीलाई पुग्नै पर्ने थियो ।

करिब ८ घण्टाको पैदलयात्रा पछि हामी दिङ्बोचे पुग्यौं । त्यहाँ विदेशीलाई २ दिन र नेपालीलाई कम्तीमा १ दिन बस्नै पर्ने रहेछ । त्यहा रहेको डाँडोमा पुगेर फर्कन सुझाइन्छ । यसरी डाँडामा पुगेर फर्कनु एक किसिमको अभ्यास पनि हो । अर्को दिन यो भन्दा धेरै उचाइको डाँडामा पुग्नुपर्ने भएकाले यसका लागि तयारी थियो यो । हामी बेलुका ६ बजे दिङ्बोचेको डाँडातर्फ लाग्यौं । करिब डेढ घण्टा उकालो हिँडेपछि माथि डाँडामा पुग्यौं । त्यहाँ करिब एक घण्टा नाचगान र रमाइलो गर्‍यौं अनि फर्कियौं । उकालो चढ्दा भन्दा ओरालो झर्दा हामीलाई सहज भइरहेको थियो । त्यसपछि हामी होटलमा बस्यौं । भोलिपल्ट ५ हजार मिटरमा रहेको लोबुचे जाने तालिका थियो । हामी यसभन्दा अगाडि राम्रोसँग इन्टरनेट चलाउन पाएका थिएनौं । यहाँ चाहिँ एउटा कुपनले एक जनामात्रै पायौं । अरूले यहाँ पनि इन्टरनेट चलाउन पाएनौं र यसै सुत्यौं ।

अर्कोदिन बिहानै ब्रेकफास्ट गरेर हामी लोबुचे तर्फ लाग्यौं । हिजो साँझ गएको डाँडालाई छिचोल्दै हामी जाँदा कतै हिउँ नभएका हिमाल त कतै ठाडो उकालोलाई हामीले पार गर्नुपर्ने रहेछ । नाकै ठोकिने यो उकालो पार गर्न हामीलाई निकै समय लाग्यो । उकालो सकिने बित्तिक्कै विगतमा हिमाल आरोहणका क्रममा ज्यान गुमाएका आरोहीहरूको सम्झनामा ढुंगाहरूमा नाम कुँदिएको थियो । विदेशी पर्यटक र ती आरोहीका आफन्तहरू त्यहाँ आएर उनीहरूलाई सम्झनामा फूल तथा खादा चढाइरहेका देखिन्थे भने आफन्तहरू उनीहरूलाई सम्झेर रोइरहेका समेत थिए ।

त्यसपछि करिब ४ घण्टा हिँडेर हामी लेबुचे पुग्यौं । लोबुचेमा केही दिन अघी मात्रै मनाङ एयर दुर्घटना भएको थियो ।  यात्राकै क्रममा हामी हेलिकप्टर दुर्घटनास्थलमा पुग्यौं । त्यहाँ दुर्घटनामा चामल पनि भुटिएको पायौं । मलाई सम्हालिन निकै गाह्रो भइरहेको थियो । किनकी क्र्याश भएको हेलिकप्टरको पाइलट निकै नजिकका व्यक्ति  हुनुहुन्थ्यो । पाइलट हाम्रै पारिवारिक सम्बन्ध जस्तै नजिकको हुनुहुन्थ्यो । जसोतसो सम्हालिएर यात्रा अगाडि बढायौं ।

लोबुचेमा हामी बसेको होटल हामी आएकै ट्राभल कम्पनीको साहुको छोराको रहेछ । विश्वकै अग्लो ठाउँमा रहेको बेकरी पनि थियो त्यो । त्यहाँ हामीलाई सरप्राइज हुने गरी वेलकम केक दिइएको थियो । निकै खुशि लाग्यो । त्यहाँ चाहीँ विभेद थिएन नेपाली र विदेशीबिच । हामीले त्यहाँ पनि तास खेलेर इन्जोय गर्‍यौं । त्यतिखेर बुकिङ एकदमै धेरै भइरहेको थियो । यस्तो सम्म कि त्यहाँ थपेर ब्लाङ्केट ओढ्ने अवस्था थिएन,  कतिपय त खाना खाने टेवल जोडेर पनि सुत्नुपर्ने थियो ।

ब्लाङ्केटले नपुगेर हामी लगाएकै ज्याकेटमाथि ब्लाङ्केट ओढेर सुत्थ्यौं । बिहान त्यसै उठेको मुख मात्रै धोएर यात्रा सुरु गर्थ्यौं ।

त्यसदिन हामीलाई स्वासप्रश्वासमा समेत निकै गाह्रो भएको थियो । एकजना साथीलाई राति सुत्दा स्वास फेर्न निकै गाह्रो भएछ, अर्को साथीले आत्तिएर झ्याल खोलिदिए । हामीले त्यस दिन निदाएकाले थाहा पाएनौं । बिहान उठ्दा हामी सबैलाई चिसोले समातेको थियो । रुममै भएको गिलासमा पानी जमिरहेको थियो । त्यो दिन अहिलेसम्मकै लामो रुट थियो हामी जानुपर्ने । एभरेष्ट बेस क्याम्प पुगेर फर्कनलाई हामीलाई १२ घण्टा लाग्ने रहेछ । तर चिसोले टाउको दुखेर हामीलाई निस्कनै गाह्रो भइरहेको थियो । जसोतसो गरेर २ घण्टा ढिला गरि हामी लोबुचेबाट निस्कियौं ।

लोबुचेबाट एभरेष्ट बेस क्याम्प पुग्न  ७  घण्टाभन्दा बढी समय लाग्ने रहेछ ।  हिँड्दाहिँड्दै बैनीलाई गाह्रो भएको मलाई अहिलेपनि  याद आइरहेको छ । तर हामीले बिस्तारै बिस्तारै गएका थियौं । त्यहाँ एकदमै उकालो हिँड्नुपर्ने थियो । तर बहिनी हिँड्न नसक्ने भएपछि घोडा बोलाएर उसलाई गोरखसेफसम्म पठायौं । हामी भने सो उकालो हिँडेरै पार गर्न लाग्यौं । एभरेष्ट बेस क्याम्प पुग्न निकै गाह्रो हुने रहेछ भन्ने महशुस पनि गर्‍यौं ।

करिब ३ घण्टा हिँडेपछि गोरखसेफ पुग्यौं । उसिनेको अण्डा र ब्रेड हामीले लगेका थियौं तर चिसोले त्यो सबै जमेको थियो । हामीले यात्रामा त्यही खाएर हिँड्यौं ।

गोरखसेफबाट एभरेष्ट बेस क्याम्पतिर जाँदा ढुंगैढुंगा जता पनि हल्लिन्थ्यो । एकदम साँघुरो र तल भिर भएकाले लाइनमा पर्खिएर हिँड्नुपर्ने थियो । त्यहाँ हामीले खुम्बु ग्लेसियरलाई पनि नजिकबाट नियाल्ने अवसर पायौं ।

त्यहाँ यात्रा गर्दै गर्दा मलाई लाग्यो यो सिंगो यात्रामा हामीले फरक फरक  श्रृंखला पार  गर्नुपर्ने रहेछ ।   हरियाली ट्रिप २ दिनको थियो । त्यसपछि पहाड र पछि ढुंगैढुंगा ।  अर्कोदिन हिमाल नै हिमाल देखिने  ।

अब हाम्रो प्रतीक्षाको घडी सकियो । यात्राको मुख्य गन्तव्य एभरेष्ट बेस क्याम्पमा हामी पुग्यौँ । मैले एभरेष्ट बेस क्याम्पबाट पूरै सगरमाथा देखिन्छ सोचेको थिएँ । तर त्यहाँबाट झनै सगरमाथा नदिखने पो रहेछ । त्यहाँ पुगेर मैले एभरेष्ट बेस क्याम्प कहाँ हो भनेर सोधें । एभरेष्ट बेस क्याम्प त एउटा ढुंगामा यति मिटर हाइट भनेर लेखिएको ठाउँ मात्रै रहेछ । मैले बढी नै अपेक्षा गरेको रहेछु । म अचम्मित भएँ । एभरेष्ट बेस क्याम्पको विभिन्न ठाउँमा क्याम्पहरू राखिएको थियो, आरोहीहरूका लागि ।

हामीलाई त्यहाँ पुगेर फोटो खिच्नु थियो । तर सोचेजस्तो नहुने रहेछ । फोटो खिच्न पनि निकै तनाव झेल्नुपर्यो । भारतीयको बढी नै भिड थियो त्यहाँ ।  पालो पर्खिएर फोटो खिच्ने भनिएपनि कतिपय भारतीय पर्यटकहरू पालो मिचेरै पुग्दथे । कतिपय नेपालीले पनि त्यसै गरेहोला । जसले हामी मात्र हैन सबैजसो पर्यटकको मूड बिगारिरहेको थियो ।

हामीले एभरेष्ट बेस क्याम्पसम्मको सफलतापूर्वक यात्रा सकायौं । अब हामीलाई फेरि पहिलेकै ७ घण्टा अगाडिको ठाउँमा पुग्नुपर्ने थियो । त्यहाँबाट भोलिपल्ट गोक्यो जाने योजनामा थियौं हामी । हामी निस्कियौं ।

हामी रामेछापको मन्थली विमानस्थलमा सँगसँगै उडानको पालो पर्खिएकाहरू त्यसदिन भर्खरै एभरेष्ट बेस क्याम्प पुग्दै रहेछन् । म यो देखेर निकै भावुक भएँ । हामी फर्कँदा मलाई लाग्दै थियो कि हामी यति धेरै हिँडेका रहेछौं ?

अन्धकार भइरहेको थियो ।  हामी  टर्च लाइट बालेर बिस्तारै बिस्तारै होटल पुग्यौं । निकै ओरालो बाटोको यात्रापश्चात अझै आधा घण्टा हिँडेर हामी पहिलेकै होटलमा पुग्यौं । हामीसँग गएका पोर्टर भाइलाई भने त्यस्तो अँध्यारोमा पनि लाइट नै चाहिएको थिएन । पूरै दौडिरहेका थिए । तर हामी भने हिँड्नलाई टर्च लाइट बालेर निकै सकस परिरहेको थियो । करिब १२ घण्टाको हिँडाइपछि हामी लोबुचेको पहिलेकै होटलमा पुग्यौं ।

त्यसपछि एभरेष्ट बेस क्याम्प यात्रालाई सफलतापूर्वक सकेर  हामी गोक्यो जाने योजनामा लाग्यौं ।

दशैंको समय भएकाले मलाई निकै नै दुवै घरको सम्झना आइरहेको थियो । म भावुक पनि भइरहेको थिएँ । तर पनि हामीलाई ट्रेकिङको मज्जा लिनु नै थियो । हामी भोलिपल्ट गोक्योतर्फ लाग्यौं ।

एभरेष्ट बेस क्याम्पतर्फको ट्रेक निकै उतारचढावपूर्ण रह्यो । सायद ट्रेकको मज्जा आउने पक्ष नै यही हो कि हामी सबै जसो पक्षलाई साक्षात्कार गर्न पाउँछौं । समग्रमा यात्रा निकै अविष्मरणीय रह्यो ।

१२ श्रावण २०८१