प्रचारप्रसार अभावले पूर्वको प्रसिद्ध मनकामना मन्दिर ओझेलमा


टुरिजम पाना काठमाडौं । १० फाल्गुन २०७९

पूर्वको प्रसिद्ध धार्मिकस्थल मनकामना क्षेत्र ओझेलमा परेको छ । अरुण नदीको सत्तिघाट नजिकै रहेको प्रसिद्ध धार्मिकस्थल प्रचारप्रसार अभावमा ओझेलमा परेको हो ।

भोजपुर र सङ्खुवासभाको सिमाना अरुण नदीको किनारमा रहेको यो स्थलमा दर्शन गर्नको लागि विभिन्न ठाउँबाट भक्तजन पुग्ने गरेका छन् । खाँदबारी नगरपालिका–९ मा पर्ने यो स्थलमा सत्यदेवीको मन मस्तिष्क पतन भएर मनकामना धामको उत्पत्ति भएको मन्दिरको पुजारीको भनाइ छ ।

यहाँ पुगेर दर्शन गरे मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । पूर्वको एक प्रसिद्ध धार्मिक क्षेत्र भए पनि यहाँको महत्वलाई बुझाउन नसक्दा ओझेलमा परेको उहाँको भनाइ छ । “मनकामनाको धेरै ठूलो धार्मिक महत्व छ”, पुजारी मनोज कट्टेलले भने, “यहाँको महत्व भक्तजनलाई बुझाउन सकिएको छैन । खासमा यो धाम ओझेलमा परेको अवस्था छ ।”

अनौठो देखिने नदी किनार नजिकै रहेको छत्र शिलालाई पार्वतीको पतन भएको मस्तिष्कको रुपमा लिन सकिने उनको भनाइ छ । यहाँ विभिन्न देवीदेवताको आकृतिसँगै हात्तीको रुप, गरुड, नाग, पार्वती पाइलासमेत देख्न सकिने पुजारी कट्टेलले बताए। शास्त्रीय चिन्तनलाई मनन गर्दा यसलाई सत्यदेवीको मस्तिष्कको रुपमा लिन सकिन्छ भने देवताका धेरै रुप हेर्न सकिन्छ । भगवानको राम अवतार, कृष्ण अवतार र बराह अवतार सबै अवतार एउटै शिलामा रचना भएको समेत बताइन्छ ।

यहाँ आउने भक्तजनले पहिला गएर अरुण नदीबाट जल ल्याएर मनकामना छत्र शिलामा पूजा गरेपछि मन्दिरमा पूजा गर्ने चलन रहेको पुजारी सूर्यप्रसाद कट्टेलले जानकारी दिए । पहिला नदी किनारमा रहेको मनकामना छत्र शिला भएको ठाउँमा नै मन्दिर भए पनि २०२१ सालमा आएको बाढीले क्षति गरेपछि थौरै माथितिर मन्दिर निर्माण गरिएको उनले बताए ।

विसं २०७२ बाट यहाँ गुरुकुलसमेत सञ्चालन भइरहेको छ । यहाँ डेढ दर्जन बढी बटुकले बेद, रुद्री कर्मकाण्ड, भागवतलगायतको शिक्षा लिँदै आएका छन् । गुरुकुलमा देशका विभिन्न ठाउँबाट बटुक आउने गरेका छन् । धर्म संस्कार संस्कृतिको संरक्षण गर्न गुरु कुल स्थापना गरिएको गुरुकुल सञ्चालक लक्ष्मणप्रसाद पोखरेलले जानकारी दिए ।

पछिल्लो समय यहाँको विकास लागि केही संरचना निर्माण भइरहेका छन् । यो स्थानमा एकादशीलगायत विभिन्न समयमा मेला लाग्ने गरेको छ । नजिकै रहेको सतीघाटमा पक्की पुल नहुँदा भने भोजपुरबाट यहाँ पुग्ने मानिसलाई समस्या हुने गरेको छ । यो स्थानलाई धार्मिक पर्यटकको रुपमा विकास गर्न सरकारले भूमिका खेल्नुपर्ने स्थानीयको भनाइ छ । (रासस)

१० फाल्गुन २०७९