नेपालमै पहिलोपटक फुड रियालिटी शो आयोजना हुँदै, उत्कृष्ट ‘सेफ’लाई २५ लाख पुरस्कार

पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउने लक्ष्य


टुरिजम पाना काठमाडौं । १४ पुष २०७९

नेपालमै पहिलो पटक फुड रियालिटी शो ‘सेफ नेपाल’ सञ्चालन हुने भएको छ । रियालिटी शोबाट खानाका पारखीहरूले मनोरञ्जन समेत लिन सक्ने शोका प्रोड्युसर धर्मराज पाण्डेले बताए । विदेशमा खानाको कल्चरलाई लिएर छुट्टै टेलिभिजन सञ्चालन हुने गरेको छ । तर नेपालमा टेलिभिजनमा एउटा कार्यक्रम पनि यस्तो प्रकारको नभएकाले रियालिटी शो गर्ने लागिएको उनको भनाइ छ।

उनले टुरिजम पानासँग भने, ‘विदेशमा खाना र फुडको कल्चरलाई देखाउनकै लागि छुट्टै टेलिभिजन हुन्छ, हाम्रोमा टिभी त परै जाहोस्, एउटा कार्यक्रम पनि छैन्, त्यसैले नेपाली खानाले पनि सम्भावना बोकेको छ, ती सम्भावनालाई मिडियाको माध्यमबाट अन्तर्राष्टिय बजारमा पुर्‍याउनका लागि शोको आयोजना गरिएको हो । ’

सन्जिव कपुरको खाना खजाना लगायतको भारतीय टेलिभिजनका शोहरु, बीबीसीको मास्टरसेफ, गर्डन राम्सेको हेल्स किचन, लगायत विदेशी कुकिङ शो हेर्दै आएका खानाका पारखहीरुले अब नेपालको आफ्नै शोबाट आनन्द एवं मनोरञ्जन प्राप्त गर्ने आयोजकको विश्वास छ । रियालिटी शो ले नेपालको पर्यटन प्रवर्द्धनमा समेत सघाउ पुर्‍याउने अपेक्षा गरिएको पाण्डे बताउँछन् । शो मार्फत नेपालको खाना र परिकारबारे जानकारी पाएर नेपालको खानासँग लोभिएर विदेशबाट पर्यटकहरु नेपाल आउनेछन् ।

कार्यक्रमको निर्णायक भूमिकामा मास्टर सेफ सन्तोष शाह, सेफ गणेशबहादुर ढकाल र भान्से लक्ष्मणप्रसाद भण्डारी रहेका छन् भने नायिका प्रियंका कार्की कार्यकारी निर्माता एवं सेलेब्रेटी जजको भूमिकामा रहेकी छन् । शाह बीबीसी रियालिटी शो मास्टरसेफका उपबिजेता समेत हुन् ।

कार्यक्रमको अनलाईन अडिसनमार्फत प्राप्त भएका करिब ३०० आवेदन मध्ये ८० आवेदक छनोट गरी ‘सेफ नेपाल’ को युट्युब च्यानलमा प्रशारण गरिसकेको आयोजकले जनाएको छ । यसरी छानिएका ८० सहभागी कुनै प्रोफेन्सल सेफ भने हैनन्, उनीहरु आफ्नो घरमै दैनिकजसो खाना पकाउन भान्सेहरु हुन् । अब लाइभ अडिसनबाट ३० जना छानिने र विभिन्न राउण्डबाट टप थ्री सेलेक्सन गर्ने आयोजकले जनाएको छ ।

यसरी छानिएका मध्येबाट एक जना उत्कृष्ट सेफलाई २५ लाख नगद पुरस्कार दिईने छ । आगामी जनवरीको अन्त्यबाट प्रसारणको तयारी थालिएको शो को पहिलो सिजन १८ एपिसोर्टमा सञ्चालन हुने छ । धर्म पिक्चर्स पोडक्सनले सञ्चालनमा ल्याउन लागेको शो हिमालयन टेलिभिजनबाट प्रसारण हुने छ । धर्म पिक्चर्सका संस्थापक समेत रहेका पाण्डे हस्पिटालिटी पृष्ठभूमीका हुन् । नेपालमा यस्तो खालको कार्यक्रमको कन्सेप्ट कसैले नगरेकोले आफूले केहि नयाँ गर्ने भनेर यो शो शुरु गरेको जानकारी दिए । उनले लामो समयदेखि होटल र रेष्टुरेण्ट व्यवसायमा आवद्ध रहँदै आएका छन् ।

‘सेफ नेपाल’ को सेट भक्तपुर थिमीस्थित रोयल थाइ हस्पिटालिटी भित्र रहेको छ । जसको निर्माण ५ महिना लगायर सम्पन्न गरिएको हो । उक्त सेटबारे जानकारी दिन र रियालिटी शो को बारेमा थप जानकारी दिनका लागि शुक्रबार एक कार्यक्रमको आयोजना समेत गरेको छ ।

१४ पुष २०७९