गण्डकी प्रदेश भित्रने भारतीय गाडीले नाकामै प्रवेश शुल्क तिर्नुपर्ने


टुरिजम पाना संवाददाता पोखरा । ५ असार २०८०
फाइल तस्वीर

गण्डकी प्रदेश भित्रने भारतीय गाडीले अब नाकामै प्रवेश शुल्क तिर्नुपर्ने भएको छ ।

आगामी आर्थिक वर्षबाटै गण्डकी प्रदेश प्रवेशद्वार तनहुँको मुग्लिन र स्याङ्जाको राम्दीबाट भारतीय गाडी प्रवेशबापतको दस्तुर उठाउन लागिएको हो।

सरकारले आगामी साउनदेखि नै प्रदेश प्रवेश गर्ने मुख्य दुई नाकाबाटै दस्तुर उठाउने तयारी गरिसकेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिव टीकाराम पौडेलले जानकारी दिए ।

दुबै नाकाबाट नयाँ आर्थिक वर्षबाटै दस्तुर उठाउने र प्रदेशको राजस्वको दायरा बढाइने अर्थमन्त्री जीतप्रकाश आलेको भनाइ छ । आर्थिक विधेयकअनुसार साना सवारी साधनले सात दिनसम्म ५ सय रुपैयाँ र त्योभन्दा बढी प्रतिदिन थप १ हजार रुपैयाँ लाग्ने छ ।

मझौला सवारी साधनमा ७ दिनसम्म १ हजार ५०० र त्योभन्दा बढी दिन बस्दा प्रतिदिन थप २ हजार रुपैयाँ तिर्नुपर्छ । यस्तै ठूला सवारी साधनमा १ हप्तासम्म ३ हजार र त्योभन्दा बढी बस्दा प्रतिदिन थप ३ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने विधेयकमा व्यवस्था छ ।

५ असार २०८०