नेपालमा विदेशी पर्यटक आफूखुसी घुम्न नपाउने, अब गाइड र पोर्टर अनिवार्य


टुरिजम पाना काठमाडौं । १९ फाल्गुन २०७९
trekking guide
फाइल तस्वीर : समिक्षा चाैधरी

नेपाल घुम्न आउने कुनैपनि विदेशी पर्यटकहरु अबदेखि आफूखुसी नेपाल घुम्न नपाउने भएका छन्। नेपाल पर्यटन वोर्डले आगामी अप्रिल १ देखि फ्रि इन्डिपेन्डेन्ट ट्राभलर्स ‘एफआईटी’ कार्ड खारेज गर्ने निर्णय भएसँगै अबदेखि आफूखुसी नेपाल घुम्न नपाउने भएका हुन् ।

बिहीबार बसेको नेपाल पर्यटन बोर्डको बोर्ड बैठकले कुनैपनि विदेशी नागरिकले आफूखुसी घुमफिर गर्न नपाउने निर्णय गरेको हो। अब पर्यटकहरू पदयात्रामा जाँदा अनिवार्य रूपमा टुरिस्ट गाइड र पोर्टरसँगै लैजानुपर्ने व्यवस्था गरिएको हो ।

बोर्डले पर्यटन सम्बद्व विभिन्न निकायहरुसँग छलफलपछि आगामी अप्रिल १ देखि ‘एफआईटी’ कार्ड खारेज गर्ने निर्णय गरेको हो । यसअघि नै एफआईटी बन्द गर्ने निर्णय भएपनि बोर्डले त्यसको कार्यान्वयन भने गरेको थिएन ।

टान र टुरिजम बोर्डको सम्झौता अनुसार एफआईटी बन्द गर्ने निर्णय गरेको टानका बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद दाहालले बताए । नेपाल घुम्न आएका पर्यटकहरुलाई विगतका दिनमा भएका समस्याहरु नहुन् भनेर यस्तो गरिएको दाहालले बताए । ‘एफआईटी’ खारेज गर्ने निर्णयसँगै यसअघि सार्क देशका पर्यटकले व्यक्तिगत रूपमा घुम्न जाँदा छ सय रुपियाँ तिर्दै आएको शूल्कमा वृद्धि गरेर एक हजार रुपियाँ बनाइएको छ ।

यस्तै सार्क बाहेकका पर्यटकले व्यक्तिगत रूपमा घुम्न नेपाल आउँदा टिम्स शुल्क बापत दुई हजार तिर्नुपर्नेछ भएको छ । एफआईटी बन्द भएसँगै अब विदेशी पर्यटक गुप्र टिम्सबाट मात्रै पर्यटकले नेपालमा घुमफिर गर्न पाउने छन् ।

१९ फाल्गुन २०७९