‘हनि हन्टिङ एड्भेन्चर’ का लागि भुजुङ पुग्यो २ सय जनाको टोली


टुरिजम पाना भुजुङ । २३ मंसिर २०७९

आन्तरिक पर्यटन प्रवद्र्धन गर्न स्पार्क गुप्र लमजुङको भुजुङ गाउँमा हनी हन्टिङ एड्भेन्चरका लागि नेपाली ख्यातीप्राप्त कलाकार, पाइटल, डाक्टर, पत्रकार, लेखक, प्राध्यापक, इन्जिनियर, वकिल, खेलाडी, सुरक्षा अधिकारी, व्यापारीलगायत करिब २ सय जनाको टोली लमजुङ आएका छन् ।

बिहीबार बिहान काठमाडौंबाट आएको यो टोली साँझ क्व्होलासोंथार गाउँपालिका ४, भुजुङ गाउँ आएका हुन् । पर्यटकीय गाउँ भुजुङ उनीहरुको गन्तव्य रहेको आयोजक स्पार्क एड्भेन्चर प्रालिले जनाएको छ ।

‘स्पार्क एडभेन्चर २०२२’ मा कलाकार राजेश हमाल, गायक रामकृष्ण ढकाल, वरिष्ठ रंगकर्मी सुनिल पोख्रेल, विमानचालक क्याप्टेन विजय लामा, कलाकार वीपिन कार्की, वर्षा सिवाकोटी, मधुसुदन पाठक (सिते बा), तेक्वान्दो खेलाडी दीपक विष्ट, डा. लोचन कार्कीसहितको टिम भुजु आईपुगेको स्पार्क समूहका अमरदीप भट्टराइले जानकारी दिए । बिहिबार यात्रा सुरु हुनुपूर्व थापाथलीमा कलाकार राजेश हमालले रिवन काटेर यात्राको उद्घाटन गरेका थिए ।

यात्राको पहिलो दिन मंसिर २२ गते काठमाडौंबाट बेंसीसहर हुँदै भुजुङ गाउँ पुगेको टोलीले भुजुङमा स्थानीय संस्कृतिको अवलोकन गर्ने र मंसिर २३ गते बिहान भीर मह काढ्नेस्थलमा पुगेर अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि होमस्टेमा खाना खाएर घलेगाउँ अवलोकन गर्दै बेंसीसहर फर्किने कार्यक्रम रहेको छ । २३ गते साँझ बेंसीसहरमा गायक रामकृष्ण ढकाल साँझ हुने र २४ गते काठमाडौं फर्कने कार्यक्रम रहेको भट्टराईले बताए ।

असाधारण यात्राको अनुभवसँगै नेपालमा साहसिक पर्यटनलाई प्रवद्र्धन गर्दै विभिन्न क्षेत्रका विज्ञबीच सम्बन्ध कायम गराउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको भट्टराईको भनाइ छ ।

लमजुङको भुजुङमा करीब ४ सय घर एकैठाउँमा छन् । पहिले एउटै गाउँ र एउटै गाविसले चिनिएको भुजुङ अहिले एउटै वडामा पर्छ । समुद्री सतहदेखि १ हजार ६ सय ५० मिटर उचाइको यो गाउँ लमजुङ सदरमुकाम बेंसीसहरदेखि ३६ किलोमिटर उत्तरपश्चिम क्षेत्रमा पर्छ ।

२३ मंसिर २०७९