बुटवल र मौलाकालिकामा आइएमई समूहले केबलकार सञ्चालन गर्ने


टुरिजम पाना काठमाडाैं । २३ मंसिर २०७९
cable car

आइएमई समूहको लगानी एवं व्यवस्थापनमा रुपन्देहीको बुटवल र नवलपुरको मौलाकालिकामा एकैपटक केबलकार सञ्चालनमा आउने भएको छ । रुपन्देहीमा लुम्बिनी केबलकार र नवलपुरमा मौलाकालिका केबलकार सञ्चालन हुन लागेको हो ।

बुटवलको गोलपार्कदेखि पाल्पाको वसन्तपुरलाई जोड्ने गरी २ दशमलव ५ किलाेमिटर लामाे लुम्बिनी केबलकार निर्माण भइरहेको छ । ९ वटा टावर रहने लुम्बिनी केबलकारमा ७ वटा टावरको काम सकिएको छ भने दुई वटा टावर निर्माणको काम भइरहेको छ ।

एक वर्षअघि बाट बनाउन सुरू भएकाे लुम्बिनी केबलकारकाे पुससम्ममा बाँकी काम सकेर माघमा परीक्षण सञ्चालन गर्ने निर्माण समूहले जनाएको छ ।

पाल्पाको बसन्तपुरमा केबलकारको स्टेशनसँगै १५० कोठाको पाँचतारे होटल पनि निर्माण हुने भएको छ । आइएमई समूहले ५ अर्ब लगानीमा होटल तथा केबलकार निर्माण गरिरहेको हो ।

सोही समूहले नवलपुरको मौलाकालिकामा समेत २ अर्बको लगानीमा केबलकार तथा होटल निर्माण गरिरहेको छ । १ दशमलव २ किलोमिटर लामो मौलाकालिका केबलकारमा ६ वटा टावर रहने छन् । त्यहाँ निर्माण हुने हाेटल ५० काेठाकाे हुनेछ ।

२३ मंसिर २०७९