पोखरामा पुस १३ देखि १७ सम्म रेबानको सडक महोत्सव


टुरिजम पाना पोखरा । २२ मंसिर २०७९
Street Festival Pokhara

अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा सडक महोत्सव हुने भएको छ । ‘सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने नाराका साथ रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेबान) पोखराले विगत २३ वर्षदेखि गर्दै आएको सडक महोत्सवको २४ औं संस्करणको महोत्सव गर्न लागेको हो ।

पुस १३ देखि १७ गतेसम्म पोखरा लेकसाइडको ३ किमी सडकमा महोत्सव आयोजना गर्न लागिएको रेबान पोखरा अध्यक्ष तथा महोत्सव संयोजक नरेश भट्टराईले जानकारी दिए । पोखरालाई आन्तरिक तथा वाह्य पर्यटकको अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थल रुपमा प्रवद्र्धन गर्न रेबानले महोत्सव गर्दै आएको उनको भनाइ थियो ।

५ दिनसम्म चल्ने महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रर्दशनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत, झाँकी प्रर्दशन, कन्सर्ट, बोट रेस, भेट्रान टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वार र पोखराका प्रमुख गन्तव्यसहितको वृत्तचित्र प्रर्दशन गरिनेछ ।

महोत्सवमा छिमेकी देश भारतको पनि सांस्कृतिक कार्यक्रम समेत समावेश गरिने छ । महोत्सवमा करिब ४ लाख दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको छ । महोत्सवकै अवसरमा होटल संघ पोखराले २० प्रतिशत कोठामा छुट दिने भएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा देशका ७ वटै प्रदेशमा महोत्सवबारे प्रचारप्रसार गरिने बताईएको छ ।

२२ मंसिर २०७९