ऐतिहासिक लमजुङ दरबारको पुनर्निर्माण सुरु, दुई वर्षमा निर्माण सक्ने लक्ष्य


टुरिजम पाना लमजुङ । १७ चैत्र २०७९
फाइल तस्वीर

शाहवंशीय राजाहरूको उदगमस्थलका रूपमा परिचित लमजुङ दरबारको पुनर्निर्माण सुरु गरिएको छ। जीर्ण अवस्थामा रहेको लमजुङ दरबारको पुनर्निर्माण कार्य दुई वर्षमा सक्ने लक्ष्यका साथ पुरातात्विक विभागले निर्माण सुरु गरेको हो ।

०७९ माघ २० गते कालीका मन्दिरमा क्षमा पूजा गरी दरबार भत्काइएको र पुननिर्माण थालिएको हो । दरबारको पुनर्निर्माण कार्य गरिँदा पुरानै स्वरूपमा इँटा, ढुंगा, काठ, तामाको प्रयोग हुने बताइएको छ। दरबारको छाना तामाको हुनेछ। ०७२ सालको भूकम्पले चर्केको लमजुङ दरबारमा दुईपटक चट्याङले थप जीर्ण अवस्था पुगेको थियो।

दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ पुरानै स्वरूपमा निर्माण गरिने दरबारका लागि यस वर्ष एक करोड १४ लाख रुपैयाँको लागतमा एसके कन्स्ट्रक्सन भक्तपुरले दरबारको निर्माण कार्य सुरु गरेको हो। १५५० मा यशोब्रह्म शाहको पालामा निर्माण गरिएको लमजुङ दरबार १८२० मा पुनर्निर्माण गरिएको थियो। त्यसपश्चात् १९९० को भूकम्पपश्चात् १९९२ मा जीर्णोद्धार गरिएको थियो।

१६औँ शताब्दीतिर मुलुक बाइसे–चौबिसे राज्यमा विभाजित हुँदा लमजुङमा यशोब्रह्य शाहले राज्य गर्थे। गाउँसहरस्थित लमजुङ दरबारबाट विस्तार भएको शाहवंशीय शासन मुलुकमा गणतन्त्र आउनुअघि राजा ज्ञानेन्द्रसम्म आइपुगेको थियो।

१७ चैत्र २०७९