पर्यटन प्रवर्द्धनका लागि समझदारी गर्न होटल व्यवसायीहरू बंगलादेश प्रस्थान


टुरिजम पाना संवाददाता काठमाडौं । ४ असार २०८०

मुलुकको पर्यटन प्रवर्द्धनका लागि समझदारीमा हस्ताक्षर गर्न होटल व्यवसायीको एक टोली बंगलादेश गएको छ। होटल उद्योगको छाता संगठन होटल संघ नेपालका २४ जना प्रतिनिधि सोमबार ढाका गएको हो।

मुलुकको पर्यटन क्षेत्रको प्रचार गर्ने उद्देश्यले समझदारी गर्नु भ्रमणको मुख्य रहेको संघले जनाएको छ। संघका अध्यक्ष विनायक शाहको संयोजकत्वमा आयोजना हुन लागेको कार्यक्रममा होटल संघ नेपाल र बंगलादेश इन्टरनेसनल होटल एसोसिएसनबीच समझदारीपत्रमा हस्ताक्षर हुँदैछ।

नेपाल-बंगलादेश पर्यटन प्रवर्द्धनमा सहकार्य, तालिम तथा होटल क्षेत्रमा भएका अभ्यासहरुको आदानप्रदानका लागि समझदारी गर्ने कार्यक्रम रहेको संघले जनाएको छ।

संघ, नेपाल पर्यटन बोर्ड र नेपाली दूतावास बंगलादेशसँगको सहकार्यमा हुने कार्यक्रम आगामी बुधबार छ। ढाकामा आयोजना हुने कार्यक्रममा बंगलादेशका छुट्टाछुट्टै सहरका प्रतिष्ठित पर्यटन व्यवसायी, टूर अपरेटर तथा बंगलादेशी सरकारी विशिष्ट अधिकारी, बंगलादेशका लागि नेपाली राजदूत र सञ्चारकर्मीको सहभागिता रहने जनाइएको छ।

कार्यक्रमले दुई देशको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नुका साथै नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ।

यो भ्रमणमार्फत टोलीले बंगलादेशका सरकारी प्रतिनिधि तथा पर्यटनसँग सम्बद्ध निकायहरुसँग भेटघाट गर्ने जनाइएको छ।

४ असार २०८०