चितवन शक्तिखोरमा ७० करोड लगानीमा ‘लग्जरी रिसोर्ट’ खुल्दै


विष्णुकान्त घिमिरे काठमाडौं । ४ असार २०८०

पूर्वि चितवनको शक्तिखोरमा भव्य ‘लक्जरी रिसोर्ट’ सञ्चालनमा आउने भएको छ । लटौली प्याराडाइज रिसोर्ट कम्पनी प्रालि अन्तर्गत करिब ७० करोड रुपैयाँको लागतमा लटौली प्याराडाइज रिसोर्ट निर्माणाधिन रहेको छ ।

६ विगाहा १२० कठ्ठा जमिनमा फैलिने रिसोर्टमा २ वेडरुम, प्राइभेट स्विमिङपुल तथा अन्य अत्याधुनिक सुविधा सहितको सात वटा लक्जरी भिल्ला रहनेछन् । जसको मूल्य एकरातको १२ हजारदेखि ६० हजारसम्म पर्ने कम्पनीले जनाएको छ ।

यस्तै प्राइभेट स्विमिङ पुलसहितको ६२ लक्जरी भिल्ला रिसोर्टमा उपलब्ध हुनेछ । जहाँ स्पा, जीम, मिनी गल्फ, हेलिप्याड, ब्याङ्क्वेट हल, वाटर बडी तथा स्विमिङ पुल समेत रहने बताइएको छ ।

साहसिक खेलका पारखीहरूका लागि जीपलाइन, रिभर्स बञ्जी, हर्ष राइडिङ, क्वाड बाइक टुर तथा अन्य मनोरञ्जनात्मक गतिविधिका लागि २५ कठ्ठामा फैलिएको विशाल फनपार्क समेत रिसोर्टमा उपलब्ध छ ।

गैर आवासीय नेपालीद्वारा लगानी गरिएको यस रिसोर्ट निर्माणमा मात्रै ४० करोड रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ ।

रिसोर्टको नजिकको दूरीमा विभिन्न पर्यकटीय आकर्षणहरू रहेका छन् । ती गन्तव्यहरूमा मज्जाा लिने र रिसोर्टमा आनन्ददायी बसाईका लागि पनि उत्तम विकल्पको रुपमा रिसोर्ट हुने कम्पनीले जनाएको छ ।

निर्माणाधिन रिसोर्टको ७ किलोमिटरको दूरीमा उपरदाङ गढि रहेको छ । यस क्षेत्रमा नेपालमा मात्रै पाइने केही पन्छीहरूलाई अवलोकन गर्न पाइन्छ । पन्छीहरूका लागि यस क्षेत्रमा रहेको जंगल अति नै महत्वपूर्ण मानिन्छ ।

लटौली रिसोर्टकै शीरमा छ चितवनकै सबैभन्दा अग्लो हिलपीक सिराइचुली । शक्तिखोरको काउले गाउँमा अवस्थित सिराइचुली पर्यटकीय आकर्षणको केन्द्र हो । रिसोर्टबाट केही समय बसमा यात्रा गरेपछि सिराइचुलीको थुम्कोमा पुग्न सकिन्छ ।

रिसोर्टबाट करिब ३ किलोमिटरको दूरीमा शक्तिखोर झरना पर्दछ । २५ मिनेट हिँडेपछि यस झरना पुग्न सकिन्छ । झरनामा गर्मी महिनामा दैनिक एक हजारभन्दा बढीले भ्रमण गर्छन् भने शनिवार तीन हजारदेखि ५ हजार जनाले मनोरञ्जन लिने गरेको त्यहाँका स्थानीयहरू बताउँछन् ।

करिब ३० वर्ष पहिले चित्लाङदेखि शक्तिखोर ट्रेकिङ रुट नै रहेको थियो । अहिले भने यो बन्द छ ।

४ असार २०८०