अर्गानिक उत्पादनमार्फत काठमाडाैँमा जिरी चिनाइरहेका लिलाराम


सम्राज्ञी भण्डारी काठमाडाैँ । ३ श्रावण २०८१

शंखमूल टावरमा रहेको ‘हाटघर’अर्गानिक कृषि उत्पादनले भरिएको छ । हाटघरमा जिरी र आसपासमा किसानले फलाएका आलु, कोदो, मकै, फर्सी, फापर, च्याउ लेकाली सिमी, जिम्बु, साग र चियापत्ति मात्रै होइन उत्पादित छुर्पी, नौनी घिउ, अचार र चिज किन्ने ग्राहकहरु झुम्मिएका छन् ।

जिरीमा उत्पादित  र अर्गानिक स्वादिला उत्पादनमा लोभिएकाहरु सामान अनलोड हुने वित्तिकै आइपुग्ने गरेको सञ्चालक ३४ वर्षे लिलाराम खड्काले सुनाए । जिरी र दोलखामा उत्पादित अग्र्यानिक खाद्यान्न उपत्यकाबासीलाई खुवाउने मात्रै नभइ जिरीको प्रबद्र्धनको उद्देश्यले एक वर्ष अघि खड्काले यहाँ हाटघर सुरु गरेका थिए ।

“मेरो उद्देश्य जिरीमा उत्पादित तरकारीदेखि खाद्यान्न काठमाडौँबासीसम्म पुर्‍याउने हो, यसलाई मैले व्यापारिक कम जिरीको प्रबद्र्धन बढी गर्ने योजनाका साथ काम गरिरहेको छु”, केही दिन अगाडिको कुराकानीमा उनले हामीलाई सुनाए ।

खड्काले पछिल्लो एक वर्ष व्यावसायिकरुपमा धेरै लाभ कमाउन नसकेपछि जिरी र त्यहाँ उत्पादित अग्र्यानिक उत्पादनप्रतिको चासो भने बढाउन सकेको उनको बुझाइ छ । “मकहाँ एउटा परिवार नियमित ग्राहक जस्तै छ, जिरीको  अर्गानिक आलु नियमित खाएपछि यस्तो मीठो आलु फल्ने ठाउँ जिरी कस्तो रहेछ भन्दै सपरिवार घुम्न समेत गयो”, उनले भने, “उहाँहरु जस्तै कैयौँ ग्राहकहरु हुनुहुन्छ जसले यसैगरी मलाई हौसला दिइरहनुभएको छ, योभन्दा ठूलो अरु कुन उपलब्धि होला र ?”

नेपालको स्वीट्जरल्याण्ड समेत भनिने जिरीमा उत्पादन भएका कृषिजन्य उत्पादन साच्चिकै स्वीट्जरल्याण्डसँगे यूरोप र पछिल्लो समय जापानसम्म पुग्ने गरेको उनले सुनाए ।

त्रिभुवन विश्वविद्यालबाट हाइड्रोलोजी एण्ड मेटेरियोलोजीमा स्नातकोत्तर तहको सकाएका उनी यतिबेला अग्र्यानिक खाद्यान्नसँगै विभिन्न उत्पादनमार्फत जिरीको प्रबद्र्धन गरिरको छन् । अहिले उनको हाटबजारमा खाद्यान्नसँगै जिरी अंकित टोपी, झोला पनि उपलब्ध छन् । जसलाई सोभेनियरका रुपमा पनि लिन सकिन्छ भने प्रयोग गर्ने गरी पनि खरिद गर्न सकिने उनको भनाइ छ ।

“दुई महिनाअघि मात्रै चार जना ग्राहकले जिरी लेखिएको टोपी लगाएर चितवन गएका थिए, फर्केपछि चितवनमा धेरैले सोधिखोजी गरेको भन्ने उहाँहरुले सुनाउनुभयो, मेरो सानो प्रयासबाट पनि जिरीलाई चिनाउन सकेकोमा खुसी लाग्छ, यसले पनि हौसला मिलेको छ”, उनले भने ।

चखाउँदै सेरगमको स्वाद
खड्काले हाटघरमा आउनेका लागि अग्र्यानिक उत्पादनसँगै जिरीको मौलिक स्वाद ‘सेरगम’ पनि चखाइरहेका छन् । मोही उमालेर बनाइएको ‘सेरगम’ धेरैले मन पराएकाले कहिलेकाँही चहलपहल अलिक बढी नै हुने गरेको उनले सुनाए । “मोहीलाई केही समय उमालेपछि झोल र चोक्टा छुट्टिन्छ, त्यही चोक्टाबाट सेरगम तयार हुन्छ”, उनले भने, “जिरीका किसानको मौलिक परिकार चाख्न अहिले पसलमा भीड लाग्ने गरेको छ ।” ग्राहकका लागि पनि यो नौलो भएकाले धेरैले रुचाएको उनको अनुभव छ ।

यो परिकार स्वास्थ्यका लागि निकै फाइदाजनक रहेको र काँचै खान मिल्ने भएकाले उनले ग्राहकलाई एक टुक्रा भए पनि चखाउने गरेका छन् । हाटघरमा सेरगमको पिठो पनि पाइन्छ । सेरगममा घिउ राखेर मकै अथवा भटमासको पिठो मिसाएर पिठो तयार पारिन्छ । शेर्पा समुदायमा बढी प्रचलनमा रहेको यस पिठोको माग अहिले बढ्न थालेको उनले बताए ।

जिरीको साग

हाटघरमा जिरीको साग धेरै बिक्री हुनेमा पर्छ । उनले दैनिक औसत १५ केजीसम्म जिरीको साग बिक्री गरिरहेका छन् । “एक÷दुई बिराएर जिरीबाट साग मगाउँछु, कहिलेकाँही त किसानले पहिल्यै बिक्री गर्ने भएकाले साग पाउन पनि मुस्किल हुन्छ”, उनले भने, “तर ग्राहकका लागि जसरी भए पनि साग ल्याउने गरेको छु ।”

एक्लो प्रयासमा अघि बढेका उनी सधैभरी किसानसँग सम्पर्क गर्न नपाउँदा जिरीका पसलबाट महंगोमा साग ल्याउनु परेको उनी सुनाउँछन् । उनका अनुसार कहिलेकाँही त ढुवानी खर्च पनि आफ्नै पर्ने भएकाले सागको मूल्य पनि उठ्दैन । तर अग्र्यानिक खाने बानी परेका ग्राहकलाई निराश बनाउन नपरोस भन्ने उद्देश्यले घाटामै भए पनि साग बिक्री गर्ने गरेको उनले बताए ।

उनका अनुसार जिरीमा उत्पादन हुने छुर्पी र चिजको माग काठमाडाँैमा धेरै छ । दुग्धजन्य यस उत्पादनको जिरीमा पनि राम्रो मूल्यमा बिक्री हुन्छ । जिरीका उत्पादनलाई जिरीमा भन्दा पनि काठमाडौँमा सस्तो मूल्यमा बिक्री गरिरहेको उनको दाबी छ । यसो गर्नुमा ग्राहकले जिरीको उत्पादनले महत्व पाओस भन्ने आफ्नो उद्देश्य रहेको उनको भनाइ छ ।

३ श्रावण २०८१