धनकुटामा सञ्चालनमा आउँदै कन्दरा रिसोर्ट


टुरिजम पाना धनकुटा । २९ मंसिर २०७९
resort symbolic photo
सांकेतिक तस्वीर

धनकुटाको जोरपाटीमा तीन करोडको लागतमा कन्दरा रिसोर्ट सञ्चालनमा आउने भएको छ ।

छथर जोरपाटी गाउँपालिका–२ को मध्यपहाडी लोमार्गस्थित निर्माणाधीन उक्त रिसोर्ट स्थानीय युवा व्यवसायी बलदिव राईले सञ्चालनमा ल्याउन लागेका हुन् । करिब २७ रोपनी क्षेत्रफलमा गत वर्षदेखि निर्माण थालिएको उक्त रिसोर्ट दुई वर्षभित्र सञ्चालनमा आउने सञ्चालक राईले जानकारी दिए ।

सेन्चुरी बैंकको दुई करोड, राष्ट्रिय वाणिज्य बैंकको ४५ लाख र बाँकी निजी लगानीमा बन्न लागेको उक्त रिसोर्ट प्रदेश नं १ का आन्तरिक पर्यटकलाई लक्षित गरेर सञ्चालनमा ल्याउन लागिएको राईले बताए ।

‘यहाँ तराईबाट तिनजुरे, जलजले मिल्के क्षेत्र जाने पर्यटकलाई गासबास उपलब्ध गराइनेछ’, उनले भने ।

तीन सय पाहुनालाई सेवा दिन मिल्ने क्षमताको उक्त रिसोर्टमा यही उत्पादन भएका तरकारी, सिस्नु, माछा, लोकल कुखुरासहित अर्गानिक खाना खुवाइनेछ । वार्षिक ५० लाखको कारोबार गर्ने लक्ष्यसहित रिसोर्ट सञ्चालनमा आउन लागेको हो ।

समुद्री सतहबाट एक हजार नौ सय मिटरको उचाइमा रहेको यस स्थानबाट यहाँ आउने पर्यटकले यस क्षेत्रका मनोरम पहाडी शृङ्खला र कञ्चनजङ्घा हिमशृङ्खला अवलोकनको आनन्द लिन सक्नेछन् ।

२९ मंसिर २०७९