अन्तिम दिन दधिलीला नाच देखाउँदै कार्तिक नाच सकियो


टुरिजम पाना काठमाडौं । २२ कार्तिक २०७९
kartik nach, cultural dance of nepal

यसबर्षको कार्तिक नाच आजबाट सकिएको छ । वि.स. १६९७ मा शुरु भएको कार्तिक नाच हरेक वर्ष कार्तिक महिनामा प्रदर्शन गरिने नृत्य अनि संगीतमा आधारित भएर देखाइने नृत्य नाटक हो ।

कार्तिक १३ गतेबाट शुरु भएको नाच आज अन्तिम दिन दधि लिला नाचसहित सम्पन्न गरिएको हो । नाच पाटन दरबार स्क्वायरमा अवस्थित कार्तिक डबलीमा मञ्चन गरिएको थियो । यस वर्ष कार्तिक नाच कार्तिक १३ गते देखि २२ गते सम्म १० दिन मात्रै प्रदर्शन गरियो ।

कात्तिक नाचमा कृष्णलीला, शास्त्रीय नाच, लोक नाटक, उषाहरण लीला, जलशयन, बराह अवतार, नृसिंह अवतार, वस्त्रहरण, दधिलीला लगायतका नाचहरु देखाईएको थियो । परापूर्वकालमा कार्तिक महिनाभर मनाइँदै आएको उक्त नाच पछिल्ला वर्षहरूमा विविध कारणले गर्दा केही दिन मात्र देखाउन थालिएको हो ।

हिन्दु देवता भगवान् विष्णुसँग सम्बन्धित १७ वटा धार्मिक कथाहरूसँग जोडिएको यो ऐतिहासिक नाच पाटनका तत्कालीन राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरुहरू हरिवंश राजोपाध्याय र विश्वनाथ उपाध्यायको सल्लाहअनुसार तत्कालीन दरबार चोकभित्र रहेको भगवान् श्रीकृष्णको मन्दिर निर्माण सम्पन्न भएको उत्सव मनाउन पहिलो पटक शुरु गरेको इतिहास छ ।

२२ कार्तिक २०७९