बन्दीपुरको खड्गदेवी मन्दिर अब दैनिक खुल्ने


टुरिजम पाना दमौली । ९ असार २०८१

तनहुँको बन्दीपुरमा रहेको खड्गदेवी मन्दिर दैनिक रुपमा खुला गरिएको छ ।

पर्यटकीय  बन्दीपुर गाउँपालिका–४ मा रहेको यस मन्दिर बिहीबारदेखि दैनिक रुपमा खुल्ला गरिएको हो । यो मन्दिर हरेक वर्ष नवरात्रमा नौ दिनमात्रै खुल्दै आएको थियो ।

मन्दिर सञ्चालक समितिका अध्यक्ष आनन्दमान जोशीले लामो प्रयासबाट मन्दिर सबैका लागि खुला गरिएको जानकारी दिए । करिब ६ सय वर्षभन्दा पुरानो मानिले यस मन्दिरमा मगर, कामी र बाहुन गरी तीन जातका  पुजारी रहेका छन् ।

हिन्दुधर्ममा आधारित किंवदन्ति अनुसार भगवान् शिवजीले राजा मणिमुकुन्द सेनलाई तरबार दिएका थिए । सेनको उक्त तरबार एक बह्माणीको घर छोडी आफू देवघाटमा गई समाधि लिएको र कालन्तरमा तरबार नागको रुप लिएको जनविश्वास छ । पछि उक्त नागले पुनः तरबार रुप लीएर उडेर गई बन्दीपुर डाँडामा खसेको र शिवजीको आज्ञा पाएपछि खड्गदेवीको रुपमा प्रकट भई मन्दिर स्थापना भएको हो ।
मन्दिरका पुजारी भरतमणि भट्राईले यस मन्दिरमा खास गरी सेना, प्रहरी र फलाम सम्बन्धि कार्य गर्नेको लागि मन्दिर दर्शन फलदायक रहने गरेको बताउँछन् ।

बन्दीपुरेको इष्ट देवताको रुपमा मानिने यस मन्दिरमा जमिन छोडेर हावामा सयर गरी दर्शन गर्दा चित्ताएको पुग्ने धार्मिक विश्वास छ ।

मन्दिर प्रमुख मगर खाँडे पुजारी रामकुमार आलेका अनुसार मन्दिर बिहान ७ बजेदेखि बेलुका ७ बजे सम्म मन्दिर खुला रहने छ ।

मन्दिर पहिले ढुगाबाट निर्मित गरिएको  थियाे । पछि राजा चन्द्र शमशेरको पालामा दरबार शैलीमा रुपान्तरण गरिएको हो । यस मन्दिरमा अहिले तामाको छाना रहेको छ।

९ असार २०८१