पर्यटकको रोजाइमा बर्दियाको खैरापुर !


टुरिजम पाना बर्दिया । ९ मंसिर २०८२

दुर्लभ वन्यजन्तुको सूचीमा रहेको कृष्णसार अवलोकनका लागि आन्तरिक तथा विदेशी पर्यटकहरू बर्दियाको कृष्णसार संरक्षण क्षेत्र मा पुग्ने गरेका छन्। यो संरक्षण क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जबाट करिब ४५ किलोमिटर टाढा गुलरिया नगरपालिका–२ खैरापुर मा पर्छ।

कृष्णसार संरक्षण क्षेत्रको तथ्याङ्क अनुसार, गत आर्थिक वर्ष २०८१-८२ मा स्वदेशी, सार्क क्षेत्रका र अन्य विदेशी गरी ४ हजार ६ सय पर्यटक ले कृष्णसारको अवलोकन गरेका थिए।

यद्यपि, यस आर्थिक वर्षमा भने वर्षायामका कारण पर्यटकको सङ्ख्यामा कमी आएको बताइएको छ। पर्यटकहरू दिनभर अवलोकन गरेर बर्दिया निकुञ्ज वरपरका होटेलहरूमा फर्कने गर्छन्।

हाल कृष्णसार संरक्षण क्षेत्रमा २ सय ४८ वटा कृष्णसार रहेका छन्। सरकारले २०६५ साल चैत ३ गते यो क्षेत्रलाई कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेको थियो। यसको कुल क्षेत्रफल १६.९५ वर्ग किलोमिटर छ। जसमध्ये कृष्णसारको वासस्थान क्षेत्र ५.२७ वर्ग किलोमिटर र वरिपरिको प्रभावित क्षेत्र ११.६८ वर्ग किलोमिटर रहेको छ।

कृष्णसार खुला घाँसे मैदान (दुबो र काँस) मा बस्न रुचाउँछन्। त्यसैले, तिनीहरू आबादी नजिकै गाई, भैँसी, भेडाबाख्राहरू सँगसँगै चरिरहेको र बसिरहेको देख्न सकिन्छ। उनीहरूको सङ्ख्या निरन्तर अवलोकन गरेर अद्यावधिक गरिन्छ।

संरक्षण क्षेत्रलाई व्यवस्थित बनाउनका लागि भौतिक निर्माण तथा वासस्थान व्यवस्थापनका कामहरू भइरहेका छन्। भविष्यमा यसको संरक्षण र व्यवस्थापनको जिम्मा स्थानीय समुदायलाई हस्तान्तरण गर्ने योजना पनि रहेको छ।

 

९ मंसिर २०८२