निम्स मगरको रेकर्ड तोड्ने तयारीमा क्रिष्टिना, ४५ दिनमै गरिन् सगरमाथा सहित ९ ठूला हिमालको सफल आरोहण


टुरिजम पाना संवाददाता काठमाडौं । १२ असार २०८०
Kristin Harila

निम्स मगरको रेकर्ड तोड्ने तयारीमा रहेकी नर्वेकी हिमाल आरोही क्रिष्टिना हेरिलाले ४५ दिनभित्रमा ९ वटा ८ हजार मिटर भन्दा अग्ला हिमालको सफल आरोहण गरेकी छन् ।

उनले ४५ दिनभित्रमा शिशापाङ्मा हिमाल (८०२७), चो यु हिमाल (८१८८), मकालु हिमाल (८४८५), कञ्चनजङ्घा हिमाल (८५८६), सगरमाथा हिमाल (८८४८.८६), लोत्से हिमाल (८५१६), धौलागिरि हिमाल (८१६७), अन्नपूर्ण हिमाल (८०९१) र मनास्लु हिमाल (८१६३)को सफल आरोहण गरेकी हुन् ।

उनी आवद्ध सेभेन समिट ट्रेक्सले ४५ दिनमा हेरिलाले ९ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरेको जानकारी दिएको छ ।

आठ हजार मिटरभन्दा माथिका १४ वटा हिमाल ७ महिनाभन्दा कम समयमा आरोहण गरेको कीर्तिमान नेपालका निम्स मगरको छ । क्रिष्टिना सो रेकर्ड तोड्ने प्रयासमा छिन् ।

क्रिष्टिनाले चार महिनामै आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटा हिमालको आरोहण गर्ने लक्ष्यसहित अगाडि बढेकी छन् ।

जसका लागि उनले तिब्बतका चोयु र सिसापाङ्गमा हिमालको सफल आरोहण पश्चात नेपालका हिमालहरू आरोहण गर्न सुरू गरेकी हुन् ।

यसअघि उनले सगरमाथाको चुचुरोबाट लोत्से हिमाल सबैभन्दा छोटो समयमा आरोहण गर्ने महिलाको कीर्तिमानी समेत राखेकी छन् ।

नर्वेकी क्रिष्टिना धावक र क्रस-कन्ट्री स्की खेलाडी पनि हुन् । उनले यसबाहेक ८ हजार मिटरभन्दा कम उचाइका आमादब्लम सहित ९ वटा हिमाल पनि आरोहण गरेकी छिन् ।

उनले यसअघि पनि निम्स मगरको रेकर्ड तोड्ने प्रयास गरेकी थिइन् । तर, तिब्बतका चोयु र सिसापाङ्गमा हिमाल आरोहणको अनुमति नपाउँदा उनको किर्तिमानी प्रयास रोकिएको थियो ।

१२ असार २०८०