पर्यटन प्रवर्द्धनको विशेष गुरुयोजना बनाउँदै ललितपुर महानगर


टुरिजम पाना संवाददाता ललितपुर । २५ पुष २०७९
indian tourist
फाइल तस्बीर

ललितपुर महानगरपालिकाले पाटन क्षेत्रमा पर्यटन प्रवद्र्धनका निम्ति विशेष गुरुयोजना बनाउने भएको छ । महानगरले आइतवार एक समारोह आयोजना गर्दै यसबारे जानकारी दिएको हो ।

पाटन क्षेत्रमा पर्यटकको चहलपहल भएपनि रातमा बास नबस्ने गरेको भन्दै महानगरले रातिसमेत उनीहरूलाई राख्नका लागि विशेष योजना बनाउन लागेको हो ।

यसका लागि महानगरको उद्योग तथा संस्कृति संरक्षण समितिले काम शुरू गरेको समितिका सदस्य एवम् वडा नम्बर ६ का वडाध्यक्ष रुपेन्द्रराज शाक्यले टुरिजम पानालाई जानकारी दिए ।

वडाअध्यक्षहरू सम्मिलित सो समितिले ललितपुर महानगरभित्रमा पर्यटन प्रवद्र्धनका लागि विशेष गुरुयोजना बनाउन लागेको हो ।

पाटन क्षेत्रमा पर्यटन विकास के कसरी गर्ने, पूर्वाधार थप गर्ने तथा पर्यटकको बसाई लम्ब्याउन के–के काम गर्ने भन्नेबारे गुरुयोजना बनाउन लागिएको समितिले जनाएको छ ।

आइतबारको छलफलमा नेपाल पर्यटन बोर्डको तर्फबाट बजार व्यवस्थापन प्रवन्धक श्रद्धा श्रेष्ठले समेत सहभागिता जनाएकी थिइन् ।

उनले नेपालमा पर्यटनको अवस्था तथा महानगरपालिकाले गर्न सक्ने कार्यहरूबारे प्रस्तुति दिएकी थिइन् । विगतमा अरु नगरपालिकासँग पनि बोर्डले काम गरिरहेको उनले बताइन् ।

यसमा पनि ललितपुर महानगरपालिकामा पाटनको पर्यटनलाई थप ब्राडिङ गर्नुपर्ने आवश्यकता आइतबारको छलफलमा औंल्याइएको प्रबन्धक श्रेष्ठले जानकारी दिइन् ।

रात्रिकालिन पर्यटन लगायत विषयमा बोर्डले काम गरिरहेको भन्दै उनले पाटनको पर्यटनमा पुनः ब्राण्डिङ कसरी गर्ने भन्नेबारे छलफल भएको बताइन् ।

पाटन उद्योग वाणिज्य संघ, सम्पदा अभियन्ता तथा सरोकारवाला समेतको सहभागीतामा आइतवार छलफल गरिएको हो । सो छलफललाई निरन्तरता दिँदै महानगरभित्र पर्यटन प्रवद्र्धनमा थप काम गर्ने समिति सदस्य शाक्यले जानकारी दिए ।

उनले भने,‘हामीले अहिले पहिलो खुड्किलो स्वरुप आइतबार छलफल गर्‍यौं । छलफललाई निरन्तरता दिएर गुरुयोजना नै बनाएर यहाँको पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्य रहेको छ ।’

२५ पुष २०७९