पर्यटन प्रवद्र्वनका लागि वेस्टर्न ट्राभल मार्ट गरिने


टुरिजम पाना नेपालगञ्ज । २५ पुष २०७९
फाइत तस्वीर

पश्चिम नेपालमा पर्यटन प्रवद्र्धन गर्न नेपालगञ्जमा वेस्टर्न ट्राभल मार्ट आयोजना गरिने भएको छ ।

पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्दै आर्थिक विकास गर्ने उद्देश्यसहित आगामी माघ २७ देखि २९ गतेसम्म मार्टका लागि तयारी गरिएको नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) जिल्ला अध्यक्ष श्रीराम सिग्देलले बताए ।

उनका अनुसार नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजना गर्न लागिएको मार्टलाई विशेष महत्वको बनाउने गरी कर्णाली र लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्य तथा कला संस्कृतिलाई प्राथमिकतामा राखेर काम गरिने छ ।

मार्टमा आउने पाहुनालाई पर्यटन सम्बन्धी स्टलदेखि यस क्षेत्रका धार्मिक एवं पर्यटकीय गन्तव्यको भ्रमण, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण, कर्णाली नदीमा र्‍याफटिङ, रारा यात्रा र माउण्टेन फलाइट गराउने तयारी भएको अध्यक्ष सिग्देलले बताए । मार्टबाट बाँकेका दुई वटा ऐतिहासिक धार्मिकस्थल नरैनापुरको बाबा बर्फानी र सन्तानेश्वर महादेवको मन्दिरलाई विशेष रुपमा प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ ।

यसैगरी नेपालको मौलिक उत्पादनको रुपमा रहेको ‘अल्लो’ बाट निर्माण गरिएको सामग्री र शालिग्रामको प्रचारका लागि आयोजक नाटाले काम गर्ने उनकोे भनाइ थियो । उनले पर्यटन क्षेत्रको विकास हुँदा समग्र देशले फाइदा लिन सक्ने भएकोले पश्चिम नेपाललाई पर्यटनको क्षेत्रमा विश्वभरी चिनाउने लक्ष्यसहित आफूहरुले काम गरिरहेको जिकिर गरे ।

दोस्रो पटक नेपालगञ्जमा हुन लागेको मार्टमा सहभागिता जनाउनु पश्चिम क्षेत्रका पर्यटन व्यवसायीका लागि गर्वको कुरा भएको पर्यटन प्रवद्र्धन मञ्चका जिल्ला संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए । ट्राभल मार्टमा भारतको दिल्ली, आगरा, गोण्डा, बनारस र लखनउबाट पर्यटन व्यवसायी तथा पर्यटकलाई ल्याउने तयारी गरिएको उनको भनाइ थियो ।

२५ पुष २०७९