तमु ल्होसारमा जिउँदो इतिहास : ठेकी, गहना र पुस्ताबीचको सेतु


टुरिजम पाना काठमाडौं । १५ पुष २०८२

टुँडिखेलको खुला मैदानमा आज संस्कृति बोलिरहेको थियो। कुनै मञ्चबाट होइन, काखीमा च्यापिएको ठेकी, घाँटीमा झुन्डिएको गहना र नातिलाई कछाड लगाउन सिकाइरहेका हजुरबुवाको हातबाट।

ललितपुरकी ६३ वर्षीया देवकुमारी गुरुङको काखमा रहेको ठेकी केवल भाँडो थिएन, त्यो उनका पुर्खाको स्मृति थियो। तीन पुस्तादेखि सँगै यात्रा गरिरहेको उक्त ठेकी गोर्खाबाट ललितपुर बसाइँ सर्दा पनि छुटेन।
“यो ठेकी आजभोलि बनाइएको होइन,” उनी मुस्कुराउँदै भन्छिन्, “यसले हाम्रो विगत बोकेको छ।”

सानै उमेरमा विवाह भएकी देवकुमारीले जीवनका थुप्रै पल यही ठेकीसँग जोडेर सम्झिन्छिन्। कहिले मोही पारिएको, कहिले घरको आँगनमा राखिएको—आज भने त्यो ठेकी तमु ल्होसार महोत्सवमा संस्कृतिको प्रतिनिधि बनेर उभिएको थियो।

महोत्सवमा यस्ता कथाहरू धेरै थिए। भक्तपुरकी सोरठी गुरुङले लगाएका गहना पनि बोलिरहेका थिए। मखमली चोली र छिट्को गुन्योलाई सजाउने मुगामाला, शिरफुल र हबेल माला उनका लागि गहना मात्र होइन, आमाको माया र माइतीको चिनो हो।
“जति पुरानो गहना, उति अमूल्य,” उनी भन्छिन्, “दुःख परे पनि बेच्न मन लाग्दैन।”

सोरठी यी गहना छोरीलाई हस्तान्तरण गर्ने तयारीमा छिन्। हजुरआमादेखि आमा र आमादेखि छोरीसम्म पुग्ने यो परम्परा नै गुरुङ समुदायको निरन्तरता भएको उनको विश्वास छ।

१५ पुष २०८२